काठमाडौँ । चार वर्षअघि माधवकुमार नेपालको पक्ष समात्दै एमाले छोडेकी नेतृ रामकुमारी झाँक्री फेरि एक पटक बिना कुनै सर्त एमालेमा फर्कनुभएको छ ।
पार्टी फुटेको तनावपूर्ण क्षणमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कठोर अभिव्यक्ति दिँदै प्रचण्ड–नेपाल समूहतिर मोडिनुभएकी झाँक्रीले २०८२ कात्तिक २४ गते भने त्यही ओली नेतृत्वको प्रशंसा गर्दै संगठनमा पुनः प्रवेश गर्नु भएको हो ।
राजतन्त्र अन्त्यको आन्दोलनताका युवा ‘आइकन’का रूपमा उभिनुभएकी झाँक्रीको आवाज सदैव प्रभावशाली मानिँदै आएको छ ।
त्यसका कारण ओलीविरुद्धको उहाँका तीव्र अभिव्यक्तिबाट एमाले समर्थकहरू कहिल्यै प्रसन्न थिएनन् भने प्रचण्ड–नेपाल पक्षले उहाँमाथि सम्मानजनक समर्थन देखाएका थिए ।
तर एमाले छाडेर एकीकृत समाजवादीतिर लागेकै समूह अहिले भने झाँक्रीमाथि गालीको वर्षा गरिरहेको छ ।
२०७८ सालमा झाँक्रीसँगै एमाले छोडेका एक नेता भन्नुहुन्छ–“उहाँको इतिहास गर्विलो छ, त्यसैले समाज सुन्छ । तर हतारमा गर्ने निर्णयहरूले विश्वास कमजोर बनाउँदै लगेको छ ।”
ओलीबारे कठोर निष्कर्ष सुनाउनु भएकी झाँक्रीले ओलीमा कुनै ठोस परिवर्तन नभए पनि आज खुलेर प्रशंसा गर्न थालेपछि प्रश्न उठ्नु स्वाभाविक रहेको आलोचकहरूको टिप्पणी छ ।
झाँक्रीको एमालेसँग सम्बन्ध विच्छेद र पुनःफर्कने इतिहास पुरानै हो । २०५४ सालमै वामदेव गौतमको साथ लागेर एमाले छोडेर नेकपा मालेमा आबद्ध हुनुभएकी उहाँ पछि पुनः त्यही पार्टीमा नेकपा मालेको एकता हुँदा फर्कनु भएको थियो ।