काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक गरेको असोज महिनाको मासिक अपराध विवरणअनुसार सातै प्रदेशमध्ये मधेस प्रदेशमा सबैभन्दा धेरै अपराध दर्ता भएको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम अपराध दर्ता भएको देखिएको छ ।
असोज महिनामा देशभर ३ हजार ९ सय २१ वटा अपराध दर्ता भएका छन् । तीमध्ये मधेश प्रदेशमा मात्रै ७ सय ८५ अपराध दर्ता भएका छन्, जुन कुल अपराधको एक तिहाइभन्दा बढी हो ।
यसपछि लुम्बिनी प्रदेशमा ६ सय ५८, कोशीमा ६ सय ३९, काठमाडौँ उपत्यकामा ६ सय १३, बागमतीमा ४ सय १४, गण्डकीमा ३ सय ३२, सुदूरपश्चिममा ३ सय र सबैभन्दा कम कर्णाली प्रदेशमा १ सय ७१ अपराधका घटना दर्ता भएका छन् ।
यो विवरणअनुसार मधेश, लुम्बिनी र कोशी प्रदेशहरूमा अपराधको दर तुलनात्मक रूपमा उच्च देखिएको छ ।
यी प्रदेशहरूमा जनघनत्व बढी, सीमावर्ती आवागमन तथा व्यापारिक गतिविधि चहलपहलका कारण आर्थिक, सामाजिक र कानुनी प्रकृतिका अपराध बढी हुने गरेको प्रहरीले उल्लेख गरेको छ ।
त्यसैगरी गण्डकी, सुदूरपश्चिम र विशेषगरी कर्णाली प्रदेशमा अपराध दर न्यून रहेको छ । भौगोलिक कठिनाइ, जनसङ्ख्या कम र आर्थिक गतिविधि सीमित हुनु यसका कारणका रूपमा देखिएको छ ।