ललितपुर । देशभरका नर्सहरूले न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै २०८२ कात्तिक १४ गते विरोध प्रदर्शन गरेका छन् ।
निजी तथा सामुदायिक अस्पतालका नर्सहरूले एकैसाथ प्रदर्शन गर्दै सरकारसमक्ष आफ्ना माग पूरा गर्न दबाब दिएका हुन् ।
सरकारी अस्पतालमा कार्यरत नर्सहरूले पनि आन्दोलनरत नर्सहरूसँग ऐक्यबद्धता जनाएका छन् ।
उनीहरूले स्वास्थ्य सेवा प्रदान गर्ने नर्सहरूको आर्थिक अवस्था कमजोर बनाएको भन्दै समान तलब, भत्ता र सुविधा उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् ।
नर्सहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८२ असोज २४ गते जारी गरेको पत्र कार्यान्वयन गर्नुपर्ने, सबै स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक सरकारी दरभन्दा नघट्ने गरी व्यवस्था गर्नुपर्ने, अतिरिक्त कार्यका लागि भत्ता प्रदान गर्नुपर्ने, ज्यालादारी प्रणाली अन्त्य गर्नुपर्ने र तलब–भत्ता बैंकिङ प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने माग राखेको नेपाल नर्सिङ सङ्घकी अध्यक्ष प्ध्यापक चन्द्रकला शर्माले बताउनु भयो ।
आन्दोलनरत नर्सहरूले चेतावनी दिएका छन् कि-‘सरकारले माग बेवास्ता गरेमा आगामी दिनमा चरणबद्ध रूपमा थप कडा आन्दोलनमा जान बाध्य हुनेछौँ ।’
उनीहरूले “स्वास्थ्य सेवा मानव अधिकार हो, श्रम शोषण बन्द गर, नर्सको श्रमको मूल्य देऊ” भन्ने नारासहित देशभरका अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।
मानव अधिकारकर्मीहरूले नर्सहरूको माग न्यायोचित रहेको भन्दै सरकारले तुरुन्त वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् । फोटोः रातोपाटीबाट साभार

