काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दलहरूसँग २०८२ असोज ३० गते विशेष छलफल गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा आयोग कार्यालयमा भएको छलफलमा स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न विविध सुझाव र तयारीबारे विस्तृत चर्चा भएको थियो ।
छलफलमा दलका प्रतिनिधिहरूले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न आयोगले निरन्तर पहल र समन्वय गर्नुपर्ने तथा सरकारले शान्ति सुरक्षाको पर्याप्त व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

केही राजनीतिक दलका प्रतिनिधिले भने फागुन २१ गते कुनै हालतमा पनि निर्वाचन हुन नसक्ने भन्दै आयोगको भनाइको प्रतिवाद गरेका थिए ।
छलफलमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नु भयो-“आवधिक निर्वाचनभन्दा फरक परिस्थितिमा यो निर्वाचन हुन लागेकाले सबै दलको जिम्मेवारी र सहकार्य आवश्यक छ । आयोगले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्ने दृढ तयारी गरेको छ ।”
उहाँका अनुसार सरकारले स्रोत, साधन र सुरक्षाको व्यवस्थामा पूर्ण प्रतिबद्धता जनाइसकेको र आयोगले निरन्तर सरोकारवालासँग छलफल जारी राखेको छ । उहाँले निषेधको राजनीति नगरी निर्वाचनमय वातावरण बनाउन सबैलाई आह्वान समेत गर्नु भएको छ ।
भावनामा होइन सम्भावनामा चल्छ राजनीति !
छलफलमा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधार, सगुन सम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ लगायतका अधिकारीहरूको सहभागिता थियो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, दलहरूले आचारसंहिता पालना, खर्च नियन्त्रण, निष्पक्ष वातावरण र सबै पक्षबिच निरन्तर संवादमा जोड दिएका छन् ।
