मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

जेनजी आन्दोलनबाट सिन्धुलीमा १२ करोडभन्दा बढीको क्षति

रुद्र बहादुर खड्का, सिन्धुली  

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिन्धुलीमा भएको तोडफोड र आगजनीबाट १२ करोड ४६ लाख ८६ हजार ५ रुपियाँ बराबरको क्षति पुगेको छ ।

आन्दोलनको क्रममा सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, संघसंस्था र नेताहरूको निजी सम्पत्तिमा समेत ठूलो क्षति पुगेको हो ।

सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित ‘सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कन समिति’को प्रतिवेदनअनुसार विभिन्न संरचनामा यति ठूलो आर्थिक क्षति भएको पाइएको हो ।

सरकारी कार्यालयमा ठूलो क्षति

सबैभन्दा बढी क्षति कमलामाई नगरपालिकाको कार्यालयमा पुगेको छ । नगरपालिकाको केन्द्रिय कार्यालयमा मात्र ४ करोड २९ लाख १५ हजार ५ सय रुपियाँ रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा १ करोड ७६ लाख ९२ हजार ४ सय ६८, जिल्ला अदालत सिन्धुलीमा १ करोड ६० लाख ८ हजार ३ सय ४४, जिल्ला समन्वय समितिमा ५८ लाख २० हजार ६ सय, मालपोत कार्यालयमा १४ लाख ६६ हजार ३ सय ९०, कर कार्यालयमा १६ लाख १५ हजार १ सय ३७ र कारागार कार्यालयमा ४२ लाख ७४ हजार ४ सय रुपियाँको क्षति पुगेको छ ।

नगरपालिकाका वडा कार्यालयहरूमा पनि क्षति पुगेको छ । वडा नं. ५ कार्यालयमा ३४ लाख १८ हजार १ सय ५०, वडा नं. ४ मा ४ लाख ६३ हजार ८ सय र वडा नं. ६ मा ३ लाख ८० हजार ९ सय रुपियाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

राजनीतिक दलका कार्यालयमा तोडफोड

जिल्लाका राजनीतिक दलका कार्यालयहरूमा समेत ठूलो क्षति पुगेको छ ।

  • नेकपा एमालेको जिल्ला कार्यालयमा सबैभन्दा बढी १ करोड ७४ लाख ३५ हजार ९ सय,
  • नेपाली कांग्रेसको कार्यालयमा ५४ लाख,
  • नेकपा माओवादी केन्द्रको कार्यालयमा ३० लाख ८८ हजार ५ सय रुपियाँ बराबरको क्षति भएको हो ।

त्यस्तै, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनमा ७ लाख ७८ हजार ७ सय र नेपाल बार एशोसिएसन जिल्ला इकाईमा ५ लाख ४० हजार ८ सय रुपियाँको क्षति पुगेको छ।

नेताहरूको निजी सम्पत्तिमा पनि क्षति

आन्दोलनको क्रममा विभिन्न राजनीतिक दलका नेताहरूको घर र निजी सम्पत्तिमा समेत तोडफोड भएको छ ।

  • कमलामाई नगरप्रमुख उपेन्द्र पोखरेलको घरमा ८ लाख,
  • नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेको घरमा ५ लाख ९४ हजार,
  • क्षेत्र बम्जनको घरमा ३ लाख,
  • पूर्व नगरप्रमुख खड्गबहादुर खत्रीको घरमा १ लाख ६५ हजार,
  • नेकपा एमालेका जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठको घरमा १३ लाख ४१ हजार ४ सय र
  • नेकपा माओवादीका नेता लेखनाथ दाहालको घरमा १ लाख ८६ हजार रुपियाँ बराबरको क्षति भएको छ ।

स्थानीय प्रशासन सतर्क

घटनापछि जिल्ला प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ भने क्षतिपूर्तिको विषयमा पनि छलफल सुरु भएको छ ।

समितिको प्रतिवेदनले आगामी दिनमा यस्ता घटनाबाट बच्न पूर्वतयारी र सहकार्य आवश्यक रहेको सिफारिस गरेको छ ।

Author

Related News