मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

कोमामा रहेका लक्ष्मणलाई एलएका विद्यार्थीको सहयोग

काठमाडौं जेनजी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका नुवाकोट पञ्चपुरी गाउँपालिका वडा नं २ निवासी ३६ वर्षीय लक्ष्मण राईको उपचारका लागि लिटिल एन्जल्स कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले सङ्कलन गरेको रकम प्रदान गरिएको छ।

ट्रमा सेन्टरको आइसीयू कक्ष बाहिर विद्यार्थी टोलीले राईका आफन्तलाई २०८२ असोज ८ गते सहयोग रकम हस्तान्तरण गरेको हो ।

घाइते राईको टाउको पछाडिबाट लागेको गोली मस्तिष्कमा पुगेर बसेको छ । उहाँ हाल कोमामा हुनुहुन्छ ।

उहाँका दुवै मिर्गौलाले काम नगरेपछि डायलाइसिस गरिरहेको अस्पतालले जनाएको छ ।

सहयोग प्रदान गर्ने विद्यार्थी टोलीमा कयुर सिलवाल, विद्वत दाहाल, युगिन राना, अध्ययन श्रेष्ठलगायत हुनुहुन्थ्यो भने टोलीसँगै शिक्षक केदार खड्का पनि उपस्थित हुनुहुन्थ्यो ।

सहयोग हस्तान्तरणमा सहभागी युगिन रानाले भन्नु भयो-“लक्ष्मण दाइजस्तो सही मान्छेलाई सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।”

विद्यार्थीको सहयोग अभियानमा हौसला र साथ दिन पुग्नु भएकी ललितपुर महानगरपालिका वडा नं २४ की सदस्य इन्द्रा श्रीष रानाले सहयोगको आवश्यकता भएका व्यक्तिलाई खोजेर सहयोग गर्नु मानव धर्म भएको बताउँदै विद्यार्थीले सही व्यक्ति पहिचान गरी सहयोग गरेको बताउनु भयो ।

(सहयोगी र बिरामीका आफन्तजन ट्रमा सेन्टर अस्पतालको आइसीयू बाहिर ।)

शिक्षक खड्काले विद्यार्थीले जम्मा गरेको रकम विपन्न परिवारको व्यक्तिसम्म पुर्‍याउन सकियोस् भनेर सहयोगी भूमिका खेल्नु भएको थियो ।

लक्ष्मणका भतिज दीपेन्द्रले रकम समाउँदै सहयोग गर्नेप्रति धन्यवाद ज्ञापन गर्दै भन्नु भयो-‘हाम्रो परिवार अत्यन्तै निम्न आर्थिक स्तरमा जीवन यापन गर्दै आएको छ । यो सहयोगले ठूलो काम गर्नेछ । बाहिरबाट औषधि किन्न तथा खाना खाजाका लागि खर्च गर्नेछौँ ।’

घटनाबारे जानकारी दिँदै दीपेन्द्रले भन्नु भयो-“काकाको टाउकोमा गोली लागेको छ र मस्तिष्कमा रगत जमेको छ । अहिले उहाँ गम्भीर अवस्थामा हुनुहुन्छ ।”

“हामीसँग १०-२० हजार रुपlयाँ पनि निकाल्ने हैसियत छैन । अहिले राज्यको सहयोगमा उपचार चलिरहेको छ । हामीलाई भात खाजा खान पनि धौधौ छ ।”-उहाँले भन्नु भयो ।

लक्ष्मण राई ६ वर्षदेखि काठमाडौँमै बसेर मजदुरी गर्दै आउनु भएको थियो । परिवारमा पत्नी र एक सन्तान भएपनि अहिले उहाँसँग दुवै छैनन् । पत्नीसँगको सम्बन्ध टुटफुटमै रहेको छ ।

‘काका काकीको न सम्बन्ध विच्छेद छ न सम्बन्ध कायमको अवस्था छ ।’- दिपेन्द्रले भन्नु भयो ।

दैनिक जस्तो लाग्ने सङ्घर्षहरूका बिच युवाहरूको यो सानो प्रयासले ठूलो आशा बोकेको छ ।

लक्ष्मणको अवस्था अत्यन्त गम्भीर भए पनि, समाजबाट पाइरहेको सहयोगले केही हदसम्म राहत पुगेको परिवारजनले बताएका छन्।

समाजमा मानवीय भावना अझै जीवित छ भन्ने सन्देश दिने यो विद्यार्थी अभियानले ‘सही मान्छे’लाई सहयोग गर्नुको अर्थलाई अझ गहिरो बनाएको छ।

Author

Related News