पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हालै भएको जेन-जी आन्दोलनका क्रममा पोखरामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नु भएको छ ।
आन्दोलनको क्रममा असामाजिक तत्वहरूको घुसपैठका कारण तोडफोड, आगजनी र लुटपाट भई ठूलो क्षति पुगेको भन्दै उहाँले २०८२ भदौ २८ गते आफ्नो आधिकारिक फेसबुकमार्फत प्रतिक्रिया सार्वजनिक गर्नु भएको हो ।
आन्दोलनको समयमा दुबई भ्रमणमा रहनुभएका आचार्य नेपाल फर्किएपछि यस विषयमा औपचारिक अभिव्यक्ति दिनु भएको हो ।
उहाँका अनुसार, महानगरपालिकाको कार्यालय, विभिन्न वडा कार्यालयहरू र उहाँको नीजि निवाससमेत लक्षित गरी तोडफोड तथा आगजनी गरिएको छ ।
प्रमुख आचार्यले दिवङ्गत युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।
भ्रष्टाचारविरुद्धको जेन-जी आन्दोलनप्रति आफ्नो ऐक्यबद्धता दोहोर्याउँदै उहाँले भन्नु भयो-“घुसपैठ गरेर विनाश फैलाउने असामाजिक समूहहरूले आन्दोलनको पवित्र उद्देश्यलाई बिगारेका छन्, जसको परिणामस्वरूप ठूलो जनधनको क्षति भएको छ ।”

उहाँले स्थानीय सरकारका कार्यालयहरूमा गरिएको आगजनी आन्दोलनकारी युवाभन्दा बाहिरी तत्वहरूको षड्यन्त्र भएको दाबी गर्दै सम्पूर्ण क्षतिको विवरण प्रशासनतर्फबाट सङ्कलन भइरहेको जानकारी दिनु भएको छ ।
आचार्यले आगामी कार्यपालिका बैठकबाट नगरवासीका अत्यावश्यक सेवाहरूलाई निरन्तरता दिनेबारे महत्वपूर्ण निर्णय हुने बताउनु भएको छ ।
उनले सबै नागरिकलाई धैर्यपूर्वक साथ दिन आग्रह गर्दै आफ्नो व्यक्तिगत जीवन तथा नेतृत्वकाल पारदर्शी रहेको जिकिरसमेत गर्नु भएको छ ।
उहाँले भन्नु भयो-“विगत ३३ वर्षदेखि विभिन्न पेशा व्यवसायमा संलग्न रहँदै आएको व्यक्ति म पोखरेलीहरू सामु खुला किताब झैँ छु । महानगर प्रमुख बनेपछि कुनै अतिरिक्त आर्थिक लाभ लिएको छैन । मेरो नाममा आउने सुविधा समेत सामाजिक कार्यमा खर्च गर्दै आएको छु ।”
अन्त्यमा उहाँले विनाशकारी घटनामा संलग्नहरूलाई कडा शब्दमा चेतावनी दिँदै सत्यलाई कहिल्यै दबाउन नसकिने स्पष्ट पार्नु भयो । साथै उहाँले कठिन परिस्थितिमा सहयोग र सद्भाव देखाउने सबैप्रति आभार व्यक्त गर्नु भयो ।