मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

घुसपैठियाले लोकतन्त्र समाप्त पार्न खोज्दैछन्: एकीकृत समाजवादी

ललितपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले घुसपैठियाहरूले लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।

पार्टीद्वारा २०८२ भदौ २६ गते जारी विज्ञप्तिमा उहाँले जेन–जी पुस्ताको आन्दोलन लोकतन्त्र अन्त्य गर्ने उद्देश्यले नभई त्यसलाई अझ जनपक्षीय बनाउन उठेको बताउनु भयो ।

तर, बाह्य र आन्तरिक घुसपैठियाहरूले अराजकता सिर्जना गरेर मुलुकलाई असफल राष्ट्र बनाउन खोजेको उहाँले आरोप लगाउनु भयो ।

उहाँले भन्नु भयो-“जेन–जी पुस्ताको माग संसद विघटन वा संविधान खारेज होइन । तर, लोकतन्त्र विरोधीहरूले यही मौकामा संसद विघटन र संविधान खारेज गरी लोकतन्त्रलाई नै समाप्त पार्ने प्रयास गरिरहेका छन् । यसमा जेन–जी पुस्ता सचेत हुन जरुरी छ ।”

नेपालले लोकतन्त्र हराए वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्गठन गर्ने स्वतन्त्रतासहितका मौलिक हक गुम्ने चिन्ता व्यक्त गर्नु भयो । भ्रष्टाचार र कुशासनविरुद्ध बोल्ने अधिकारसमेत हराउने खतरा रहेको उहाँको भनाई छ ।

उहाँले जेन–जी पुस्ताले उठाएका जायज माग वर्तमान संविधान र संसदभित्रैबाट सम्बोधन गर्न सकिने बताउनु भयो ।

भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्न सकिने सुझाव दिँदै उहाँले आफ्नो पार्टीले यस्ता माग पहिलेदेखि राख्दै आएको स्मरण गराउनु भयो ।

संविधान संशोधनमार्फत समाधान खोज्दै छिट्टै चुनावमा गएर ताजा जनादेश लिनुपर्ने उहाँको भनाइ छ ।

यसैबिच, पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जेन–जी आन्दोलनका क्रममा शहीद भएका युवाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्नु भएको छ ।

घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न उहाँले सरकारसँग जोडदार माग गर्नु भएको छ । तर, अहिले सरकार शुन्यतामा रहेको छ ।

दुई दिनसम्म चलेका आगजनी, तोडफोड र लुटपाटबाट मुलुकमा भयावह अवस्था सिर्जना भए पनि अहिले परिस्थिति क्रमशः सामान्य बन्दै आएको उहाँले उल्लेख गर्नु भयो ।

“जेन–जी पुस्ताको न्यायपूर्ण आन्दोलन साम्य हुँदै गएको छ र मुलुक शान्ति स्थापनाको दिशातर्फ फर्किने सङ्केत देखिन थालेको छ ।”-उहाँले भन्नु भयो ।

खनालले देशलाई विध्वंस र अराजकतातर्फ धकेल्ने प्रयासलाई असफल पार्दै अब शान्ति, सहमति र पुनर्निर्माणतर्फ अघि बढ्न सबैलाई आह्वान गर्नु भयो ।

उहाँले भन्नु भयो- “विद्यमान संविधानलाई नै आधार बनाएर सर्वपक्षीय सहमति निर्माण गरौँ । साझा नीति र कार्यक्रम बनाएर सर्वदलीय सरकार गठन गरी राष्ट्रलाई पुनर्गठन, पुनर्स्थापना र रूपान्तरण गर्दै समाजवाद र समृद्धिको दिशामा अघि बढाऔँ ।”

अध्यक्ष नेपाल र सम्मानित नेता खनालले सबै पक्षलाई संयमित, शान्त र धैर्यवान रहन आग्रह गर्दै घटनामा बलिदान दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

Author

Related News