मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सिन्धुलीको चियाबारी-खुर्कोट सुरुङ मार्ग निर्माण अघि बढाउन सांसदहरूको माग

रुद्रबहादुर खड्का, सिन्धुली ।

सिन्धुलीको बनेपा-सिन्धुली-बर्दिवास (बीपी) राजमार्ग अन्तर्गतको चियाबारी-खुर्कोट सुरुङ मार्गको निर्माण कार्य छिटो अघि बढाउन सांसदहरूले नेपाल सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को नेतृत्वमा २०८२ भदौ १३ गते सङ्घीय संसदका ७२ जना सांसदहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको ध्यानाकर्षण गराउँदै यस्तो माग राखेका हुन् ।

सांसदहरूले चियाबारी-खुर्कोट खण्ड ३२ किलोमिटर लामो, साँघुरो र घुम्ती भएकोले बारम्बार दुर्घटना हुने र त्यसबाट मानवीय तथा भौतिक क्षति हुने गरेको जनाउँदै तत्काल सुरुङ मार्ग निर्माण गर्नुपर्ने माग गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य दाहालका अनुसार, सुरुङ निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पहिल्यै तयार भइसकेको भए पनि सरकारको बेवास्ताका कारण काम अघि बढ्न सकेको छैन । उहाँले तत्काल बजेट सुनिश्चित गरी निर्माण कार्य थाल्न माग गर्नुभएको छ ।

सांसद दाहालसँगै सिन्धुली क्षेत्र नम्बर १ का सांसद श्यामकुमार घिमिरे, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला, जीवन परियार, रामहरी खतिवडा, सुदन किराती, माधव सापकोटा लगायत ७२ जना सांसदले संयुक्त हस्ताक्षरसहित ध्यानाकर्षण पत्र बुझाउनु भएको हो ।

बीपी राजमार्गको यो खण्ड साँघुरो, घुम्ती र कम भारवहन क्षमतायुक्त भएकाले मालवाहक सवारी चलाउन कठिन हुने र पूर्वी पहाडी जिल्ला-सिन्धुली, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक आदिका बासिन्दाले आर्थिक तथा समयको भार व्यहोर्न बाध्य भएको जनाइएको छ ।

हाल चियाबारी-खुर्कोटको दूरी २९.८ किमी रहेको छ भने सुरुङ मार्ग बनेमा दूरी घटेर ८.५ किमी हुनेछ ।

हाल एकदेखि डेढ घण्टा लाग्ने यो दूरी सुरुङमार्ग बनेपछि ६ मिनेटमा पार गर्न सकिने प्राविधिक पक्षको दावी छ ।

सुरुङ मार्ग कमलामाई नगरपालिका-२ को चियाबारीको फेदीबाट सुरु भई गोलन्जोर गाउँपालिका-७ को तल्लो बारासम्म पुग्नेछ ।

डिपिआर अनुसार सुरुङ निर्माणमा १६ अर्ब ८१ करोड ८७ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पनि सरकारको तर्फबाट सुरुङ मार्ग निर्माण विषयमा गम्भीर छलफल चलिरहेको र दातृ निकायसँगको सहकार्यमा प्रक्रिया अघि बढिरहेको जानकारी दिनु भयो ।

प्राविधिकहरूको भनाइ अनुसार, सुनकोशी-मरिण डाइभर्सन सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन नै चियाबारी-खुर्कोट सुरुङ निर्माणमा प्रयोग गर्न सकिनेछ ।

Author

Related News