रुद्रबहादुर खड्का, सिन्धुली ।
मौसमी फ्लु र अन्य सङ्क्रमणजन्य रोगका बिरामीको सङ्ख्या बढ्दै गएपछि सिन्धुली असेपतालमा बिरामी चाप बढेको छ ।
दूषित पानी, असन्तुलित खानपान र मौसमी सङ्क्रमणका कारण स्थानीय ज्वरो, टाइफाइड, झाडापखाला, दम लगायतका रोगले प्रभावित भएका छन् ।
दैनिक ५ सय हाराहारीमा बिरामीहरू आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक थपलियाका अनुसार यो वृद्धि ‘सिजनल फ्लु‘ र वर्षायामसँग सम्बन्धित सङ्क्रमणका कारण भएको हो ।
उहाँका अनुसार इमर्जेन्सीमा पनि दैनिक ४०–५० बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै स्वास्थ्य पहुँचमा चुनौती उत्पन्न भएको छ ।
५० शैय्या क्षमता भएको अस्पतालमा हाल १ सय शैय्यासम्म विस्तार भए पनि दैनिक बिरामी र विशेषज्ञ चिकित्सकको अनुपात मिल्न सकेको छैन ।
राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले अस्पताललाई दिनुपर्ने करिब ७ करोड रुपियाँ लामो समयदेखि भुक्तानी नगरेका कारण अस्पतालको फार्मेसीले उपलब्ध गराउने औषधीमध्ये अधिकांशको मौज्दात सकिएको छ । स्वास्थ्य बिमा गरेका बिरामीले अहिले बाहिरको पसलबाट औषधि किन्नुपर्ने बाध्यता छ ।