मधु पन्थी, पोखरा।
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश, पोखराका महानिर्देशक घनश्याम पौडेलले सामान्य कुरामा ध्यान नदिँदा सहकारी सङ्कटग्रस्त अवस्थामा पुगेको बताउनु भयो ।
सामाजिक विकास कार्यालय, कास्कीको आयोजनामा महिलाद्वारा सञ्चालित सहकारी संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई २०८२ असार ११ गतेदेखि पोखरामा सुरू भएको क्षमता विकास तालिममा उहाँले यो कुरा बताउनु भएको हो ।
समस्याग्रस्त अवस्थामा पुगिसकेपछि सुधार गर्न र त्यस्ता समस्या अउन नदिनका लागि सञ्चालकहरूले सहकारी स्थापनाको उद्देश्य र यसको सिद्धान्त अनुरूप काम गर्नुपर्नेमा उहाँले जोड दिनु भयो।
सामाजिक विकास कार्यलय, कास्कीका प्रमुख राजेन्द्रप्रसाद पौडेलले सहकारी संस्थाहरू सङ्कटग्रस्त अवस्थामा पुग्ने र सहकारी सञ्चालकहरूले रकम अपचलन गरेको घटनाहरू बढ्दै गएको सन्दर्भमा सहकारी सञ्चालक समितिको काम कर्तव्य र अधिकार, ऋण लगानी असुली व्यवस्था, सहकारी सम्बन्धी कानुनी व्यवस्थाका विषयबारे अभिमुखिकरण गराउनका लागि प्रशिक्षण आयोजना गरिएको बताउनु भयो ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका शाखा अधिकृत चोलाकान्त वाग्ले र प्रवक्ता ईश्वरी ढकालले सहकारीमा देखिएका समस्या तथा समाधानका उपाय, ऋण लगानी असुली सम्बन्धी कानुनी व्यवस्थाका विषयबारे सहजीकरण गर्नु हुने छ ।
तालिममा २० ओटा सहकारीका ४० जना कर्मचारी तथा पदाधिकारीहरू सहभागी रहेको कार्यालय प्रमुख पौडेलले बताउनु भयो ।
तालिममा रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथकले सहकारी संस्थाहरूको स्तरीकरणका लागी कर्जा जोखिम गणना, कर्जा सुरक्षण व्यवस्था, बचत र व्याजको व्यवस्थापन एवम् ऐन नियमको पालना गर्नु सहकारीको प्रमुख दायित्व रहेको बताउनु भयो ।