पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले सेवाप्रवाहलाई थप सरल, प्रभावकारी, पारदर्शी, जवाफदेही तथा सेवाग्राहीमैत्री बनाउन सेवाग्राही प्रतिक्रिया तथा सुझाव फाराम सञ्चालनमा ल्याएको छ ।

“तपाईंको प्रतिक्रिया, हाम्रो सेवा सुधारको आधार” भन्ने नारासहित सञ्चालनमा ल्याइएको उक्त प्रणालीमार्फत सेवाग्राहीले आफूले प्राप्त गरेको सेवासम्बन्धी प्रतिक्रिया, गुनासो तथा सुझाव उपलब्ध गराउन सक्ने प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिनुभयो ।
२०८३ कात्तिक १६ गतेदेखि लागू गरिएको यस प्रणालीमार्फत सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेर वा गुगल फाराम भरेर आफ्नो प्रतिक्रिया तथा सुझाव सहज रूपमा दिन सक्ने उहाँले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रमेश घर्तीले प्राप्त प्रतिक्रिया तथा सुझावको विश्लेषण र छलफल गरी सेवा प्रवाहमा आवश्यक सुधार गर्ने कार्यलाई प्राथमिकता दिइने बताउनुभयो ।
सेवाग्राहीका रचनात्मक सुझावले सार्वजनिक सेवा प्रवाहलाई थप गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास जिल्ला प्रशासन कार्यालयले लिएको छ ।