मानव आवाज

२०८३ कात्तिक २२ गते
00: 00: 00
२०८३ कात्तिक २२ गते

गोटिखेलमा सांस्कृतिक उत्सवको रौनक, राष्ट्रिय तथा स्थानीय कलाकारले तताए दर्शक

ललितपुर । कला, संस्कृति र मनोरञ्जनलाई एकै थलोमा जोड्दै ललितपुरको महाङ्काल गाउँपालिकाको गोटिखेलमा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ महाङ्काल गाउँपालिकाको आयोजनामा तथा गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा लोकगायक नवराज घोरासैनी, प्रदीप रोक्का, प्रतिमा अर्याल, कृष्णप्रसाद दाहाल, विदुर घिमिरे, राम महत र प्रकाश लामालगायत कलाकारहरूले गीत तथा साङ्गीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

तिहारको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रमले स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्धनमा जोड दिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले गाउँपालिकाको विकासलाई भौतिक पूर्वाधारमा मात्र सीमित नराखी कला, संस्कृति र सांस्कृतिक गतिविधिलाई पनि प्राथमिकता दिँदै आएको बताउनुभयो ।

उहाँले यस्ता कार्यक्रमले स्थानीय प्रतिभाको पहिचान र सांस्कृतिक संरक्षणमा योगदान पुर्‍याउने धारणा राख्नुभयो । उहाँलेसमेत गीत गाएर दर्शकलाई मनोरञ्जन दिनुभएको थियो ।

विशिष्ट अतिथि जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले महाङ्कालको विकासका लागि आफू जनप्रतिनिधि भएदेखि नै प्रदेश र सङ्घीय सरकारबाट बजेट ल्याउन पहल गर्दै आएको बताउनुभयो ।

स्वास्थ्य, शिक्षा र सडक पूर्वाधारको विकासका लागि आगामी दिनमा पनि निरन्तर सक्रिय रहने उहाँको प्रतिबद्धता थियो ।

गाउँपालिका उपाध्यक्ष डोल्मामाया गोलेले छोटो समयमै बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न सफल भएकोमा स्थानीय सङ्गीतकर्मीहरूलाई धन्यवाद दिनुभयो ।

उहाँले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै स्थानीय कलाकारको सक्रियता र सिर्जनशीलताको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रामप्रसाद घिमिरे, वडा नम्बर २ का कार्यवाहक अध्यक्ष देवी लामा, वडा नम्बर ३ का अध्यक्ष मनोज पराजुली, वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष तिलक लामा र वडा नम्बर ५ का अध्यक्ष भूमिनन्द घिमिरेलगायत जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरूको उपस्थिति थियो ।

त्यसैगरी राष्ट्रिय सङ्गीतकर्मी सङ्घ ललितपुरका पूर्वअध्यक्ष सुभाष महत, अध्यक्ष सबिना दाहाल, उपाध्यक्ष श्यामसुन्दर तिमल्सिना तथा जिल्ला कार्यसमितिका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमको सभाध्यक्षता राष्ट्रिय सङ्गीतकर्मी सङ्घ महाङ्काल गाउँपालिका अध्यक्ष किरण दुलालले गर्नुभएको थियो ।

उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, कलाकार, आयोजक तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

महाङ्कालमा आयोजित यस कार्यक्रमले स्थानीय कला र प्रतिभालाई राष्ट्रिय कलाकारसँग एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै सांस्कृतिक गतिविधिमार्फत समुदायबिच आपसी सद्भाव र सहकार्यको सन्देश दिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार