मानव आवाज

२०८३ कात्तिक १९ गते
00: 00: 00
२०८३ कात्तिक १९ गते

सुरक्षित र शान्त समाज निर्माणका लागि सचेत नागरिक र जिम्मेवार प्रहरीबिच सहकार्य आवश्यक

पोखरा । सुरक्षित र शान्त समाज निर्माणका लागि सचेत नागरिक र जिम्मेवार प्रहरीबिच सहकार्य अपरिहार्य रहेको पोखराका नागरिक अगुवाहरूले बताएका छन् ।

उनीहरूले कास्की जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागूऔषध ओसारपसार तथा सुशासन कायम गर्न प्रहरी र नागरिक समाजबीच निरन्तर सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

नागरिक समाजका प्रतिनिधिहरूले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीसँग मानवअधिकारको अवस्था, शान्ति सुरक्षा तथा समसामयिक विषयमा २०८३ कार्तिक १८ गते छलफल तथा भेटघाट गरेका हुन् ।

एसपी नविन कार्की

छलफलका क्रममा प्रहरी उपरीक्षक कार्कीले मानवअधिकार र नागरिकका अधिकारप्रति प्रहरी संवेदनशील तथा सचेत रहेको बताए ।

प्रहरी एक्लैको प्रयासले मात्र समाजमा अमनचयन कायम गर्न सम्भव नहुने भन्दै उनले नागरिकहरू पनि कानुनप्रति सचेत र जिम्मेवार हुनुपर्ने उल्लेख गरे ।

अपराधमुक्त समाज निर्माणका लागि नागरिकले आफ्नो ठाउँबाट प्रहरीलाई सहयोग गर्न र शङ्कास्पद गतिविधिबारे समयमै सूचना दिन आवश्यक रहेको उनको भनाइ थियो ।

कार्कीले नागरिक समाजले सुशासनका पक्षमा निरन्तर बहस पैरवी गर्नुका साथै समसामयिक विषयमा छलफल र सकारात्मक सुझाव दिनु प्रशंसनीय कार्य भएको बताए ।

विष्णुप्रसाद बराल

पछिल्लो समय साइबर अपराध अदृश्य र सीमाविहीन प्रकृतिको हुने भएकाले यसको नियन्त्रण तथा अनुसन्धानमा थप जटिलता देखिएको पनि उनले उल्लेख गरे ।

छलफलमा औषधि व्यवसायको अनुगमनको विषयसमेत उठाइएको थियो । खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अनुगमन प्रभावकारी हुँदै गए पनि नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधि व्यवसायको अनुगमन प्रभावकारी हुन नसकेको सहभागीहरूले बताएका थिए ।

कास्कीमा करिब ७ सय र गण्डकी प्रदेशभरि २ हजार ५ सयको हाराहारीमा औषधि व्यवसायी रहे पनि अनुगमन गर्ने निकाय काठमाडौँमा सीमित हुँदा प्रभावकारी नियमनमा कठिनाइ भएको विषय छलफलमा उठाइएको थियो ।

औषधि व्यवसायको नियमित अनुगमन तथा नियमनका लागि प्रदेशस्तरमै अनुगमन निकाय स्थापना गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।

नैतिकता र असल आचरणले सभ्य, सुरक्षित तथा अनुशासित समाज निर्माणमा योगदान पुर्‍याउने प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

रामप्रसाद सुवेदी

कार्यक्रममा नागरिक मञ्च गण्डकीका संयोजक तथा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बरालले समुदायमा शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरीबिचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

असल आचरणमा रहनु भनेको कानुनी कारबाहीबाट बच्नु मात्र नभई सामाजिक उत्तरदायित्व पूरा गर्नु पनि भएको उहाँको भनाइ थियो ।

गैरसरकारी संस्था महासङ्घ नेपालका निवर्तमान अध्यक्ष एवं वरिष्ठ अधिकारकर्मी रामप्रसाद सुवेदीले पछिल्लो समय प्रहरीले नागरिकको विश्वास जित्ने गरी शान्ति सुरक्षाको प्रत्याभूति गराउन तथा सचेतना कार्यक्रम सञ्चालन गर्न गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

केशकुमारी भुजेल

उनले पीडितले न्याय पाउने र पीडकले कुनै पनि हालतमा उन्मुक्ति नपाउने गरी कार्यसम्पादन गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।

विद्यालय तथा समुदायस्तरमा लागूऔषध दुर्व्यसनको समस्या थप जटिल र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि घरघरबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष केशकुमारी भुजेलले महिला तथा बालबालिकामाथि हुने हिंसा र साइबर अपराधका घटनाबाट महिलाहरू बढी प्रभावित हुने गरेको बताउनुभयो ।

यस्ता घटनाको शीघ्र अनुसन्धान गरी पीडित महिलालाई न्याय दिलाउन तथा उनीहरूमा सुरक्षाको अनुभूति गराउन प्रहरीले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार