पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ कार्यालयको आयोजनामा सम्पन्न तेस्रो खुला रक्तदान कार्यक्रममा ५० युनिट रगत सङ्कलन भएको छ ।
प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा-५ को समन्वयमा २०८३ कात्तिक १९ गते कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चाडपर्वको अवसर र रक्तदानको महत्त्वलाई ध्यानमा राखेर आयोजित मानवीय सेवाको यस अभियानको प्रशंसा गर्नुभयो ।
उहाँले रगतको विकल्प रगत नै भएको उल्लेख गर्दै आधुनिक प्रविधिले समेत कृत्रिम रूपमा रगत उत्पादन गर्न नसकेको बताउनुभयो ।
रक्तदान निःस्वार्थ सेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै उहाँले कसले दिएको रगत कसले प्राप्त गर्छ भन्ने जानकारीसमेत नहुने भएकाले यो विशुद्ध मानवीय सेवाको कार्य भएको धारणा राख्नुभयो ।
रक्तदानले दाता शारीरिक रूपमा स्वस्थ र रक्तदानका लागि योग्य रहेको पहिचानसमेत गराउने उहाँको भनाइ थियो ।
रक्तसञ्चार केन्द्रमार्फत सुरक्षित रूपमा सङ्कलन गरिएको रगत आवश्यकतामा रहेका बिरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले यस्ता मानवीय कार्यले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णुप्रसाद बरालले स्थानीय सरकारले भौतिक पूर्वाधार निर्माण र दैनिक सेवाप्रवाहसँगै मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले रगतको कुनै विकल्प नभएको उल्लेख गर्दै रक्तदानलाई मानवीय सेवामध्ये उत्कृष्ट दानका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।
पछिल्लो समय पोखरा र कास्की जिल्ला नेपालमै सबैभन्दा बढी रगत संकलन गर्ने क्षेत्रका रूपमा परिचित रहेको जानकारी दिँदै उहाँले यहाँ सङ्कलित रगत छिमेकी जिल्ला तथा काठमाडौंसम्म पठाउने गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा-५ का सभापति केशवप्रसाद कोइराला र पोखरा-५ का पूर्व वडाध्यक्ष धनबहादुर नेपालीले रक्तदानले मानिसको जीवन बचाउन पुर्याउने योगदानबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रम संयोजक तथा वडा सदस्य कल्पना भुवाजी क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा-५ की वडा सदस्य एवम् कार्यपालिका सदस्य हरिमाया विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव लक्ष्मण शर्माले गर्नुभएको थियो।