पोखरा । ‘खाद्य पदार्थमा स्वच्छता : हामी सबैको प्रतिबद्धता’ तथा यस वर्षको नारा ‘सबैतिर स्वच्छ खानपान : खाद्यजन्य समस्याको समाधान’ भन्ने नारासहित स्याङ्जाको गल्याङ नगरपालिका क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्ट, खाद्य किराना पसल, मार्ट, स्टोर्स, पाउरोटी उद्योग तथा दुग्ध डेरीमा बजार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा, एकीकृत सेवा कार्यालय स्याङ्जा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको संयुक्त टोलीले २०८३ कात्तिक १८ गते बजार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा होटल तथा रेष्टुरेन्ट र खाजाघर ६ ओटा, खाद्य किराना पसल, मार्ट तथा स्टोर्स १३ ओटा, पाउरोटी उद्योग एउटा र दुग्ध डेरी दुई ओटा गरी कुल २२ ओटा व्यवसायको निरीक्षण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख एवम् वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले जानकारी दिए ।
अनुगमनका क्रममा बेकरी सर्टिङ, रङ्गिन झिलिङ्गा, रेष्टुरेन्टमा प्रयोग भइरहेको पकाउने तेल तथा म्याद गुज्रिएका पापड, चाउचाउ, मसला, जुसलगायतका १७ हजार २ सय ६५ रुपियाँ बराबरका खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ ।
अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य सामग्रीको उत्पादन तथा उपभोग्य मिति अनिवार्य जाँच गर्न, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तु बिक्री र प्रयोग नगर्न निर्देशन दिएको छ ।
त्यसैगरी, कृत्रिम रङ मिसाइएका तथा स्वास्थ्यका दृष्टिले अनुपयुक्त हुन सक्ने झिलिङ्गा, नलिपापड, डुम्रोलगायतका खानेकुरा बिक्री वितरणका लागि नराख्न पनि सचेत गराइएको छ ।
टोलीले भान्छामा ढक्कनयुक्त फोहोरदानी राख्न, पुराना चपिङ बोर्ड तत्काल परिवर्तन गर्न, मसीयुक्त कागजमा तारेका तथा अन्य खानेकुरा नराख्न र व्यक्तिगत सरसफाइका साथै भान्छाको नियमित सफाइमा ध्यान दिन व्यवसायीहरूलाई निर्देशन दिएको छ ।
त्यसैगरी पोखरा महानगरपालिका भित्रका विभिन्न मिठाई पसल २०८३ कात्तिक १८ गते अनुगमन गरी विभागद्वारा जारी सूचना अनुसारको कार्यान्वयन अवस्थाबारे अनुगमन गरिएको छ ।
अधिकांशमा सूचना अनुसार लेबलिङ गरेको पाइएको र नगर्नेको हकमा जानकारी दिई खाद्य निरीक्षण अधिकारीद्वारा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम आदेश गरिएको छ ।

अनुगमनका सिलसिलामा कैफियत देखिएका अन्दाजी ३१ केजी मिठाई जन्य खाद्य पदार्थ नष्ट गरिएको बताइएको छ ।
साथै, पोखरा महानगरपालिका-३१ बेगनासतालमा चलिरहेको बेगनास माछा महोत्सवको सम्बन्धित आयोजक सहित अनुगमन गरी असल अभ्यासको निरन्तरता दिने तथा सुधार गर्नुपर्ने क्षेत्रमा तत्काल सुधार गर्ने निर्देशन दिइएको पनि जनाइएको छ ।