मानव आवाज

२०८३ कात्तिक १७ गते
00: 00: 00
२०८३ कात्तिक १७ गते

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न मानवअधिकार रक्षक सञ्जालको माग

पोखरा । मानवअधिकारको संरक्षण र प्रेस स्वतन्त्रताको सुनिश्चितताविना लोकतन्त्र बलियो हुन नसक्ने भन्दै मानवअधिकार रक्षक सञ्जाल, गण्डकी प्रदेश तथा नागरिक समाजले प्रेस स्वतन्त्रता, मानवअधिकार, विधिको शासन र लोकतान्त्रिक मूल्य-मान्यताको रक्षाका लागि एकजुट हुन आग्रह गरेका छन् ।

पछिल्लो समय सञ्चारमाध्यम तथा सञ्चारकर्मीमाथि भइरहेको धरपकड, नियन्त्रण, धम्की र दबाबप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सञ्जालले यस्तो आग्रह गरेको हो ।

सञ्जालले २०८३ कात्तिक १७ गते प्रेस विज्ञप्ति जारी गर्दै स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गरेको छ ।

प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि किसिमको हस्तक्षेप अस्वीकार्य हुने जनाउँदै विज्ञप्तिमा नागरिकको सुसूचित हुने अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र राज्यका गतिविधिमाथि निगरानी गर्ने पत्रकारिताको संवैधानिक भूमिकालाई कुनै पनि बहानामा कुण्ठित गर्न नहुने बताइएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र मानवअधिकारको सम्मान गर्नु राज्यको संवैधानिक दायित्व भएको सञ्जालले स्मरण गराएको छ ।

विज्ञप्तिमार्फत सञ्जालले पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको धरपकड, धम्की, दबाब र दुर्व्यवहार तत्काल बन्द गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हक पूर्ण रूपमा सुनिश्चित गर्न माग गरेको छ ।

त्यसैगरी पत्रकारमाथि भएका दुर्व्यवहार तथा मानवअधिकार उल्लङ्घनका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र सञ्चारमाध्यमलाई निर्भीक, निष्पक्ष तथा स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन पनि आग्रह गरिएको छ ।

राज्यका निकायले आलोचनालाई शत्रुताका रूपमा नभई लोकतान्त्रिक उत्तरदायित्वका रूपमा ग्रहण गर्ने संस्कार विकास गर्नुपर्नेमा पनि विज्ञप्तिमा जोड दिइएको छ ।

प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाको विशेषाधिकार मात्र नभई सम्पूर्ण नागरिकको लोकतान्त्रिक अधिकार भएको उल्लेख गर्दै सञ्जालले प्रेसमाथिको आक्रमण नागरिकको आवाजमाथिकै आक्रमण भएको जनाएको छ ।

विज्ञप्तिमा नागरिक मञ्च गण्डकी प्रदेशका संयोजक तथा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बराल,नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, इन्सेकका संयोजक शिवप्रसाद खकुरेल, द्वन्द्वपीडित समाजका प्रतिनिधि दुदराज अधिकारी, मानवअधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरी ढुङ्गाना, अधिकारकर्मी केशकुमारी भुजेल, इश्वरी विक, सुमित्रा गायक, सावित्री अधिकारी घिमिरे, जुना केसी, जगन्नाथ तिमिल्सिना, दुर्गादेवी अधिकारी, रुद्र अधिकारी, प्रेमकुमारी अधिकारी र रविन्द्र घिमिरेलगायतले हस्ताक्षर गर्नुभएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार