मानव आवाज

२०८३ कात्तिक १३ गते
00: 00: 00
२०८३ कात्तिक १३ गते

तिहार नजिकिएसँगै सिन्धुलीका गाउँघरमा ढकमक्क फूल, व्यावसायिक खेतीतर्फ किसानको आकर्षण

सिन्धुली । तिहार नजिकिँदै गर्दा सिन्धुली जिल्लाका गाउँघर, टोलबस्ती र घरआँगनमा फूल फुल्न थालेका छन् । तिहारमा घर सजाउन, पूजा गर्न तथा माला बनाउन आवश्यक पर्ने फूल धेरै परिवारले आफ्नै घरआँगन र करेसाबारीमा रोपेका छन् । घरायसी प्रयोजनका लागि फूल रोप्ने चलनसँगै जिल्लाका केही किसान भने व्यावसायिक फूलखेतीतर्फ समेत आकर्षित हुन थालेका छन् ।

सुनकोशी गाउँपालिका-५ स्थित महाकाली बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक उमेश दर्नालले पाँच रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्नुभएको छ । उहाँका अनुसार फूलखेतीबाट वार्षिक करिब १० लाख रुपियाँ आम्दानी हुने गरेको छ । उहाँले तिहारलाई लक्षित गरी सयपत्री, मखमली, गोदावरीलगायत विभिन्न प्रजातिका फूल उत्पादन गरी बिक्री गर्दै आउनुभएको छ ।

फिक्कल गाउँपालिका-२ मा पिताम्बर बरालसहित तीन जना किसानले संयुक्त रूपमा पाँच रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् । उनीहरूले पनि तिहारलाई लक्षित गरी विभिन्न प्रजातिका फूल उत्पादन गर्दै आएका छन् ।

कमलामाई नगरपालिका-६ की विमला थापाले पनि फूल बिक्री गर्ने उद्देश्यले दुई कट्ठा क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्नुभएको छ । यसरी जिल्लाका विभिन्न स्थानमा किसानले घरायसी प्रयोजनका साथै आम्दानीको स्रोतका रूपमा समेत फूलखेतीलाई अघि बढाउन थालेका छन् ।

तिहारमा फूलको माग उच्च हुने भए पनि जिल्लामा व्यावसायिक रूपमा फूल उत्पादन तथा बिक्री गर्ने किसानको सङ्ख्या भने सीमित रहेको देखिन्छ । यद्यपि, जिल्लाका नौ ओटै स्थानीय तहमा तिहारलाई लक्षित गरी घरघरमा करेसाबारी तथा खाली जग्गामा फूलखेती गर्ने गरिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

कृषि विकास कार्यालय सिन्धुलीकी सूचना अधिकारी उमादेवी श्रेष्ठका अनुसार जिल्लाका अधिकांश परिवारले आफ्नै घरमा आवश्यक पर्ने फूल आफैँ उत्पादन गर्ने गरेका छन् । स्थानीय उत्पादनबाटै जिल्लाको फूलको माग पूरा गर्न सकिने भएकाले तिहारका लागि अन्य ठाउँबाट फूल आयात गर्नुपर्ने अवस्था खासै नरहेको उहाँको भनाइ छ ।

घरआँगनमा फुल्ने फूलले तिहारको रौनक बढाउनुका साथै व्यावसायिक फूलखेतीले किसानका लागि आम्दानीको नयाँ सम्भावनासमेत सिर्जना गर्दै गएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार