मानव आवाज

२०८३ कात्तिक १३ गते
00: 00: 00
२०८३ कात्तिक १३ गते

हरिहरपुरगढीमा कृषकलाई ५० प्रतिशत अनुदानमा हाइब्रिड मकैको बीउ वितरण गरिने

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा रामपुर हाइब्रिड-१० जातको मकैको बीउ वितरण गर्ने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को स्वीकृत ‘स्वदेशी मकैको हाइब्रिड बीउ वितरण कार्यक्रम’ अन्तर्गत कृषकलाई अनुदानमा मकैको बीउ उपलब्ध गराउन लागिएको गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले जानकारी दिनुभयो ।

गाउँपालिकाले २०८३ साल कात्तिक १० गते सूचना जारी गर्दै मकैको बीउ आवश्यक पर्ने पालिकाभित्रका इच्छुक कृषकलाई आवश्यक बीउको परिमाण खुलाएर निवेदन पेस गर्न आग्रह गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेका अनुसार इच्छुक कृषकले २०८३ कात्तिक १७ गतेसम्म गाउँपालिकाअन्तर्गतका वडा नम्बर ३, ४ र ८ का कृषि सेवा केन्द्र वा गाउँपालिकाको कृषि विकास शाखामा निवेदन पेस गर्नुपर्नेछ ।

निवेदनसँगै कृषकले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, खेती गरिने जग्गाको लालपुर्जा वा ऐलानी जग्गाको हकमा निस्सा कार्डको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

जग्गा लिज वा भाडामा लिएर खेती गर्ने कृषकले सम्झौताको प्रतिलिपिसमेत बुझाउनुपर्ने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी, कृषक अनिवार्य रूपमा किसान सूचीकरण प्रणालीमा सूचीकृत भएको हुनुपर्नेछ । प्रणालीमा सूचीकृत नभएका कृषकले निवेदन दिन आउँदा आफ्नो मोबाइल नम्बर अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ ।

कृषि उत्पादन वृद्धि तथा कृषकलाई मकै खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले अनुदानमा बीउ वितरण कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार