मानव आवाज

२०८३ कात्तिक १३ गते
00: 00: 00
२०८३ कात्तिक १३ गते

सुनकोशी–मरिन डाइभर्सन आयोजनाका निर्देशक रिजाल प्रहरी नियन्त्रणमा

बाँध निर्माणको ठेक्का प्रक्रिया अघि बढिरहेका बेला निर्देशक पक्राउ परेपछि सिन्धुलीमा हलचल

सिन्धुली । राष्ट्रिय गौरवको रूपान्तरणकारी आयोजना सुनकोशी-मरिन डाइभर्सनका आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले २०८३ साल कात्तिक १२ गते सिन्धुलीको कुसुमटारस्थित आयोजना कार्यालयबाटै उनलाई नियन्त्रणमा लिएर काठमाडौं पुर्‍याएको हो ।

सिन्धुलीस्थित सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको आयोजना कार्यालयले जनाएको छ ।

काठमाडौंस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको निर्देशनपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा उनलाई काठमाडौं लगिएको हो ।

आयोजना निर्देशकका रूपमा रिजाल सरुवा भएर आएको एक वर्ष पनि पूरा भएको छैन । उहाँ आएपछि सुनकोशी नदीमा बाँध निर्माणका लागि दोस्रोपटक ठेक्का आह्वान गरिएको थियो ।

उक्त ठेक्काको आर्थिक प्रस्ताव यही कात्तिक १६ गते खोल्ने तयारी भइरहेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनालाई आयोजनाको ठेक्का प्रक्रियासँग जोडेर हेरिएको छ । यस विषयमा भने आधिकारिक पुष्टि हुन बाँकी छ ।

आयोजनाअन्तर्गत यसअघि १३.३ किलोमिटर लामो सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी कोवेकले निर्धारित समयसीमाभन्दा अगावै काम सम्पन्न गरेको थियो ।

तर, सुनकोशी नदीमा बाँध र कुसुमटारमा विद्युत् गृह निर्माणको जिम्मेवारी पाएको रमण-पटेल जेभीले निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि उक्त ठेक्का रद्द गर्नुपरेको थियो ।

पछिल्लो समय आयोजनाको बाँकी काम निर्माणका लागि आह्वान गरिएको टेन्डरमा स्वदेशी तथा विदेशी गरी छवटा निर्माण व्यवसायीले प्रस्ताव दर्ता गराएका थिए। तीमध्ये तीनवटा कम्पनीको मात्र प्राविधिक प्रस्ताव स्वीकृत भएको थियो ।

प्राविधिक प्रस्ताव स्वीकृत हुने कम्पनीमा चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (बेइजिङ), अन्नेग-आरसीसी जेभी र सिनोहाइड्रो कर्पोरेसन (चीन) रहेका छन् ।

यी तीन कम्पनीमध्ये एउटाले आगामी २०८३ कात्तिक १६ गते ठेक्का पाउने प्रक्रिया अघि बढिरहेको थियो ।

ठेक्का प्रक्रियाको महत्वपूर्ण चरणमा आयोजना निर्देशक नै प्रहरी नियन्त्रणमा परेपछि सिन्धुलीको राजनीतिक तथा प्रशासनिक वृत्तमा ठूलो हलचल पैदा भएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार