काठमाडौँ । नेपाल औषधि व्यवसायी सङ्घ, काठमाडौँ जिल्ला शाखाले डिजिटल बजार दराजमा औषधिको अनधिकृत सूचीकरण, बिक्री वितरण तथा प्रचारप्रसार भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सङ्घका महासचिव शुभमान श्रेष्ठले २०८३ कात्तिक ११ गते जारी गर्नुभएको सूचनामार्फत मानव स्वास्थ्य र जनसुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने औषधिजस्तो संवेदनशील वस्तुको कानुनी व्यवस्थाविपरीत सूचीकरण, बिक्री वितरण तथा प्रचारप्रसार गर्ने गतिविधि तत्काल बन्द गर्न सम्बन्धित विक्रेताहरूलाई आग्रह गरेका छन् ।
औषधि ऐन, २०३५, औषधि दर्ता नियमावली, २०३८ तथा प्रचलित कानुनी व्यवस्थाविपरीत विभिन्न शीर्षक र श्रेणीअन्तर्गत औषधिहरू सूचीकरण गरी प्रचारप्रसार तथा बिक्रीका लागि राखिएको पाइएको सङ्घले जनाएको छ ।
यस्ता गतिविधिले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै सङ्घले दराजजस्तो स्थापित डिजिटल बजारलाई औषधिसम्बन्धी उत्पादनको सूचीकरण र बिक्री प्रक्रियामा प्रभावकारी निगरानी, अनुगमन तथा नियन्त्रणको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
त्यसैगरी, कानुनविपरीत औषधि सूचीकरण तथा बिक्री वितरण गर्ने विक्रेताको पहिचान गरी आवश्यक कारबाही गर्न र प्लेटफर्मका नीतिविपरीत रहेका सामग्री हटाउन पनि सङ्घले जोड दिएको छ ।
यसैबिच, नेपाल औषधि व्यवसायी सङ्घ, काठमाडौँ जिल्ला शाखाले औषधिको अनधिकृत सूचीकरण तथा बिक्री वितरण नियन्त्रणका लागि गरेको पहललाई सकारात्मक रूपमा लिँदै जिम्मेवार संस्थागत आचरण र व्यावसायिक मर्यादा प्रदर्शन गरेकोमा दराज डिजिटल मार्केटप्लेसप्रति आभार व्यक्त गरेको छ ।
नेपाल औषधि व्यवसायी सङ्घ गण्डकीका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले आगामी दिनमा पनि जनस्वास्थ्य संरक्षण र कानुनी व्यवस्थाको पालना सुनिश्चित गर्न डिजिटल बजारसँग निरन्तर सहकार्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।
औषधिको बिक्री वितरण र प्रचारप्रसारलाई कानुनी दायराभित्र राख्दै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन सम्बन्धित निकाय, डिजिटल बजार सञ्चालक तथा विक्रेताहरू जिम्मेवार हुनुपर्नेमा सङ्घले जोड दिएको छ ।

