काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा, आगजनी तथा तोडफोडका घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गर्नुभएको छ ।
जेनजी आन्दोलन भएको एक वर्षपछि २०८३ भदौ २४ गते प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो प्रश्न गर्दै आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते, प्रभावित तथा शोकमग्न परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।
उहाँले जेनजी आन्दोलन प्रारम्भमा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, भ्रष्टाचारविरुद्धको खबरदारी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्पन्न सामाजिक सञ्जाल प्रेरित आन्दोलन भएको बताउनुभएको छ ।
युवाको आवाजलाई संवेदनशील रूपमा सम्बोधन गर्नुको सट्टा राज्यले दमनको बाटो रोजेको उहाँको आरोप छ ।
प्रचण्डले आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै ‘नियोजितरूपमा परिचालित संदिग्ध तत्व’ले आन्दोलनलाई अपहरण गरेको दाबी गर्नुभएको छ ।
उहाँका अनुसार २०८३ भदौ २४ गते सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय, राजनीतिक दलका कार्यालयलगायत सार्वजनिक तथा निजी सम्पत्तिमा लुटपाट, आगजनी र विध्वंस भएको थियो ।
आन्दोलन हिंसात्मक बन्न थालेपछि वास्तविक जेनजी अभियन्ताहरूले नै ‘घुसपैठ भयो’ र ‘घर फर्कौं’ भनेको तथ्य महत्वपूर्ण रहेको उहाँले बताउनुभएको छ ।
‘युवाको जायज असन्तुष्टि र त्यसलाई हिंसा, लुटपाट तथा विध्वंसमा परिणत गर्ने नियोजित कार्य एउटै विषय होइन ।’-वक्तव्यमा भनिएको छ-‘दुईलाई एउटै दृष्टिले हेर्नु इतिहास र सत्य दुवैमाथि न्याय हुँदैन ।’
उहाँले भदौ २४ गतेको घटनालाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा ‘कालो दिन’का रूपमा चित्रित गर्नुभएको छ ।
नेपाली जनताको आत्मनिर्णयको अधिकार, राष्ट्रिय स्वाधीनता तथा इतिहासका गौरव र धरोहरमाथि भएको विध्वंसले उक्त दिनलाई थप गम्भीर बनाएको उहाँको भनाइ छ ।
जेनजी विद्रोहका नाममा आफ्नो पार्टी, नेतृत्व र राजनीतिक शक्तिमाथि गरिएको आक्रमणलाई सामान्य राजनीतिक घटनाका रूपमा स्वीकार गर्न नसकिने उहाँको भनाइ छ ।
उहाँले घटनाको सत्य स्थापित गर्न स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित छानबिन आवश्यक रहेको बताउनुभएको छ ।
‘को दोषी थियो ? आन्दोलनमाथि दमन किन र कसरी भयो ? कसले आन्दोलन भड्कायो ? कसले हिंसा, लुटपाट र विध्वंस मच्चायो ? त्यसबाट लाभ कसले उठायो ?’ लगायतका प्रश्नको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि लुटपाट, तोडफोड र आगजनी जारी रहनु, सङ्गठित समूहको परिचालन देखिनु तथा प्रज्वलनशील पदार्थको प्रयोगलगायतका घटनाले प्रकरणमाथि थप गम्भीर प्रश्न उठाएको प्रचण्डले उल्लेख गर्नुभएको छ ।
त्यसपछि भएका संसद् विघटन, गैरदलीय सरकार गठन, निर्वाचन घोषणा तथा राज्यका विभिन्न निर्णयले पनि घटनाको समग्र सत्य निरूपणका लागि थप अनुसन्धान आवश्यक देखिएको उहाँको भनाइ छ ।
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा तथा तोडफोडबारे तयार पारेको प्रतिवेदनले समेत घटनामा संलग्न विभिन्न पक्षमाथि अनुसन्धान र कारबाहीको आवश्यकता औँल्याएको प्रचण्डले बताउनुभएको छ ।
प्रचण्डले जेनजी आन्दोलनले उठाएका मुद्दामाथि समेत प्रश्न गर्नुभएको छ । ‘जेनजीले खोजेको परिवर्तन कहाँ पुग्यो ?’ भन्दै उहाँले भ्रष्टाचार अन्त्य, सुशासन, रोजगारी र समान अवसरको अपेक्षा गरेका नागरिक फेरि निराश बनेको बताउनुभएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, सामाजिक न्याय, मौलिक हक, नागरिक स्वतन्त्रता र जनताको सार्वभौमसत्तालाई नेपाली जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गर्दै प्रचण्डले यी उपलब्धि कमजोर पार्ने वा लोकतान्त्रिक संस्थालाई निष्प्रभावी बनाउने प्रयासको प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।
जनताको सङ्घर्षबाट प्राप्त अधिकारको रक्षा गर्दै प्रतिगामी, निरङ्कुश र जनविरोधी प्रवृत्तिविरुद्ध शान्ति, संविधान र लोकतन्त्र पक्षधर राजनीतिक शक्ति, युवा पुस्ता, नागरिक समाज तथा आम नेपाली जनतालाई एकताबद्ध हुन उहाँले अपिल गर्नुभएको छ ।

