गुल्मी । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमा गुल्मीको सदरमुकाम तम्घासमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
वातावरण संरक्षण तथा हरियाली प्रवर्धनसँगै सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने उद्देश्यले कम्पनीले २०८३ भदौ ६ गते वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको शुभारम्भ महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा रेसुङ्गा नगरपालिका-१ का वडाध्यक्ष रामप्रसाद पन्थीले गर्नुभएको थियो ।
उहाँले इन्स्योरेन्स कम्पनीले नाफा आर्जनसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा समेत सक्रियता देखाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
अध्यक्ष पन्थीले वृक्षारोपण गर्नु मात्र ठूलो काम नभएको भन्दै रोपिएका बिरुवाको उचित संरक्षण र व्यवस्थापन गर्नु मुख्य दायित्व भएको बताउनुभयो ।
कम्पनीका लुम्बिनी प्रदेश संयोजक नवीन पाण्डेका अनुसार विद्यालय परिसरबाट सुरु गरिएको वृक्षारोपण कार्यक्रममा वेगमबेली लगायत करिब ९० ओटा बिरुवा रोपिएको थियो ।
विद्यालय परिसर हुँदै उपल्लो घाँस मैदानसम्म विभिन्न स्थानमा बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।
सहभागीहरूको उत्साहपूर्ण सहभागितामा विभिन्न स्थानमा वृक्षारोपण गरिएको थियो । कार्यक्रममा रेसुङ्गा पर्यटन क्षेत्रका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी, अभिभावक तथा आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।