कुनै पनि देश, राजनीतिक दल, सरकारी वा गैरसरकारी संस्था-जुनसुकै संस्था पनि संविधान, प्रचलित कानुन र आफ्नै विधानअनुसार सञ्चालन हुन्छ । यो सामान्य राजनीतिक चेतना भएको नागरिकले समेत बुझिसकेको विषय हो । त्यसैले राजनीतिक दलभित्रको नेतृत्व, अधिवेशन, निर्णय प्रक्रिया र वैधानिक व्यवस्थालाई व्यक्तिगत सुविधा वा गुटगत स्वार्थअनुसार व्याख्या गर्ने प्रवृत्ति अब स्वीकार्य हुन सक्दैन ।
लामो समयसम्म सत्तामा बसेका वा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सत्ताको लाभ लिएका पुराना राजनीतिक दलहरूका लागि पछिल्लो राजनीतिक परिवर्तन गम्भीर पाठ हो । जेन्जी आन्दोलन जुनसुकै पृष्ठभूमि र अर्थमा भएको भए पनि त्यसले पुरानो सत्ता संरचनालाई हल्लाइदियो र अन्ततः सत्ता परिवर्तनको अवस्था सिर्जना भयो । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नीमाथि कुटपिट, उहाँको निवासमा आगजनी, पुराना दलका नेताका घर तथा सार्वजनिक संरचनामा भएको क्षति र सरकारी कार्यालयहरूको व्यापक तोडफोड सामान्य राजनीतिक घटनाका रूपमा लिन मिल्दैन । यसले पुरानो राजनीतिक शैलीप्रति जनतामा कति गहिरो असन्तुष्टि जम्मा भएको थियो भन्ने देखाएको छ । तर, सत्ता गुमेपछि वा नेतृत्वबाट बाहिरिएपछि केही पुराना नेताले देखाइरहेको व्यवहार हेर्दा एउटा प्रश्न अनिवार्य रूपमा उठ्छ-समयको सन्देश साँच्चै बुझिएको छ त ?
नेपाली कांग्रेसकै उदाहरण पर्याप्त छ । पार्टी विधानले निश्चित सङ्ख्यामा महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे त्यसलाई सम्बोधन गर्नुपर्ने व्यवस्था गरेको अवस्थामा नियमित अधिवेशनको प्रक्रियाबाट विषयलाई टार्न खोज्नु कति उचित थियो भन्ने प्रश्न उठ्यो । यही विवादका बिच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बाटो रोज्नुभयो । विशेष महाधिवेशन सम्पन्न भयो र गगन थापा सभापतिमा निर्वाचित हुनुभयो । त्यसपछि निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई दलको मान्यता दियो र पार्टी निर्वाचनमा सहभागी भयो ।
अझ महत्वपूर्ण पक्ष के हो भने, त्यसबेला असन्तुष्ट समूहका नेताहरूले समेत चुनावी टिकट लिन र निर्वाचनमा प्रतिस्पर्धा गर्न गगन थापालाई सभापति स्वीकार गरे । चुनाव जित्न नेतृत्व स्वीकार्य हुने, तर चुनावमा पराजय भएपछि त्यही नेतृत्वलाई अस्वीकार गर्ने राजनीतिक संस्कारले गम्भीर प्रश्न खडा गर्छ । चुनाव जित्नका लागि स्वीकार्य भएको नेतृत्व चुनाव हारिसकेपछि अस्वीकार्य कसरी हुन्छ ? यस्तो व्यवहारबाट राजनीतिक दलप्रति जनताले कसरी विश्वास गर्ने ? कांग्रेस, एमालेजस्ता पुराना दलप्रति शहर, बजार र सुगम भूगोलमै समेत जनताको आकर्षण घटिरहेको सङ्केत निर्वाचनअघि नै देखिएको थियो । जनताले परिवर्तन खोजिरहेका थिए । तर, त्यो परिवर्तनको अर्थ नयाँ पार्टी वा नयाँ अनुहार खोज्नु मात्र थिएन । जनताले पुरानो राजनीतिक संस्कारको विकल्प खोजिरहेका थिए । निर्वाचनपछि कांग्रेसको इतर समूहले विशेष महाधिवेशनकै कारण पार्टी पराजित भएको तर्क गर्न थाल्यो । एमाले र माओवादीका केही नेताबाट निर्वाचनमा धाँधली भएको अभिव्यक्ति पनि आयो । यद्यपि सम्बन्धित दलहरूले औपचारिक रूपमा निर्वाचन परिणाम अस्वीकार गर्ने तहको निर्णय सार्वजनिक गरेका छैनन् । तर यहाँ मूल प्रश्न निर्वाचन परिणामको व्याख्या होइन, जनताको सन्देश बुझ्ने हो ।
जनताले वास्तवमा के खोजेका हुन् ?
जनताले नयाँ पार्टी मात्र खोजेका होइनन् । नयाँ अनुहार मात्र खोजेका होइनन् । नयाँ भाषण र नयाँ नारा मात्र खोजेका पनि होइनन् । जनताले नयाँ राजनीतिक संस्कार खोजेका हुन् । पुराना दलहरूले पुरानै शैली, पुरानै अहङ्कार, पुरानै गुटबन्दी र पुरानै सत्तामुखी सोच दोहोर्याइरहे भने जनताले विकल्प खोज्नु स्वाभाविक हुन्छ । तर, नयाँ दलले पनि ‘पुरानाले गरेको थियो, हामीले किन गर्न नपाउने ?’ भन्ने मानसिकता अपनाउन थाले भने नयाँपनको औचित्य त्यहीँ समाप्त हुन्छ । त्यसैले आजको मूल प्रश्न ‘नयाँ कि पुरानो ?’ होइन । प्रश्न हो-कुन पुरानो सुध्रिन तयार छ र कुन नयाँले पुरानो गल्ती दोहोर्याउँदैन ?
नेपाल करिब ३ करोड जनसङ्ख्या भएको देश हो । यहाँका अधिकांश मानिस कुनै न कुनै राजनीतिक धार, विचार, आन्दोलन वा दलसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् । हरेक असफलतापछि अर्को नयाँ दल निर्माण गर्दै समस्याको समाधान खोज्नु दीर्घकालीन राजनीतिक बाटो हुन सक्दैन । राजनीतिक दल फेरिरहनुभन्दा राजनीतिक संस्कार बदल्नु महत्वपूर्ण हो । नयाँको विकल्प फेरि अर्को नयाँ होइन, सुधारिएको नयाँ हो । पुरानो दल सुध्रियो भने त्यही पुरानो दल नयाँ राजनीतिक संस्कारको वाहक बन्न सक्छ । पुरानो दल सुध्रिन मानेन भने जनताले त्यसलाई इतिहासको विषय बनाउँछन् । लोकतन्त्रमा कुनै पनि दल स्थायी हुँदैन । जनताको विश्वास नै दलको वास्तविक शक्ति हो । यही सन्दर्भमा नेपाली कांग्रेसको वर्तमान विवादलाई हेर्नुपर्छ । केही दिनअघि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि नेपाल फर्कनुभयो । उपचारका क्रममा नयाँ सरकारले इन्टरपोलमार्फत उहाँलाई पक्राउ गर्न दुईपटक पत्राचार गरेको तर पर्याप्त आधार नभएको भन्दै इन्टरपोलले त्यसलाई स्वीकार नगरेको भन्ने विषय सार्वजनिक चर्चामा आयो । उहाँ उपचार सकेर २०८३ साउन २८ गते नेपाल फर्कनुभयो । विमानस्थलबाटै पक्राउ गरिने हो कि भन्ने आशङ्का पनि सार्वजनिक रूपमा व्यक्त भएको थियो । तर, त्यस्तो भएन । उहाँ कार्यकर्ताहरूको घेरा र नारा जुलुसका बिच बसोबासस्थल पुग्नुभयो ।
यस घटनालाई लिएर राजनीतिक प्रचार र वास्तविक कानुनी अवस्थाबीचको अन्तरबारे पनि गम्भीरतापूर्वक सोच्न आवश्यक छ । जसरी प्रचार गरिएको थियो, त्यसैका आधारमा देउवा दम्पती गम्भीर अपराधमा संलग्न छन् भन्ने निष्कर्षमा पुगिहाल्नु सामान्य नागरिकका लागि उचित हुँदैन । आरोप, अनुसन्धान र प्रमाण फरक कुरा हुन् । लोकतन्त्रमा कसैलाई राजनीतिक रूपमा दोषी ठहर गर्नुअघि कानुनी प्रक्रिया र प्रमाणको सम्मान गर्नैपर्छ । देउवा नेपाल फर्किएको भोलिपल्ट इतर समूहले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभयो । त्यहाँ उहाँले आफू हिन्दु भएको कुरा पटकपटक जोड दिनुभयो । यो अभिव्यक्ति पनि अहिलेको राजनीतिक परिस्थितिसँग जोडेर हेर्नुपर्ने हुन्छ ।
नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा हुँदा नेपाली कांग्रेस सत्ताको महत्वपूर्ण राजनीतिक शक्ति थियो । त्यो निर्णय बाह्य प्रभावको परिणाम थियो कि नेपाली राजनीतिक चेतनाको स्वाभाविक विकास-त्यो अलग बहसको विषय हो । तर, त्यसबेला संसदमा रहेका नेताहरूले त्यही दृढताका साथ हिन्दु राष्ट्रको पक्षमा आवाज उठाएनन् भने अहिले राजनीतिक परिस्थिति बदलिँदा ‘म हिन्दु हुँ’ भन्ने कुरालाई बारम्बार जोड दिनुको राजनीतिक अर्थ के हो ? विचारमा निरन्तरता नहुने हो भने राजनीतिक अडान केवल अवसरअनुसार बदलिने नारामा सीमित हुन्छ । व्यक्तिको धर्म हुन्छ तर राष्ट्रको पनि धर्म हुन्छ भनेर गरिने वकालतलाई उहाँले बल पुर्याइरहनुभएको त छैन ? यो निकै विचारणीय विषय हो ।
पञ्चायतको अन्त्यपछि पञ्चायत समर्थक राजनीतिक धारले समेत बहुदलीय प्रतिस्पर्धामा भाग लियो । कमल थापाजस्ता नेताले हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दा बोकेर राजनीति गर्नुभयो । कुनै समय त्यसले उल्लेख्य मत पनि प्राप्त गर्यो । तर, समयसँगै जनताले त्यसलाई पनि अस्वीकार गरे । त्यसैले आज फेरि कांग्रेसका कार्यकर्तालाई यताउता अलमल्याउने, ‘ओगट्ने’ राजनीति कसैले गर्नु हुँदैन । राजनीतिमा विचार चाहिन्छ । विचारमा निरन्तरता चाहिन्छ । नेतृत्वमा नैतिकता चाहिन्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा-जनताको निर्णय स्वीकार गर्ने साहस चाहिन्छ ।
नयाँ दलले देश बनाउन सक्यो भने त्योभन्दा राम्रो कुरा अरू के हुन सक्छ ? देश बनेको अवस्थामा हामी सबैले यही देशमा बस्ने हो । तर, देश असफलतातर्फ गयो भने फेरि अर्को ‘नयाँ’ खोजेर मात्र समाधान निस्कँदैन । त्यसैले राजनीतिक परिवर्तनलाई अनुहार परिवर्तनका रूपमा बुझ्नु हुँदैन । राजनीतिक परिवर्तनको वास्तविक अर्थ शासनशैली, जबाफदेहिता, निर्णय प्रक्रिया र राजनीतिक संस्कारमा परिवर्तन हो । आज पुराना दलहरूसामु सुधारको अवसर छ । उनीहरूले आफ्ना कमजोरी स्वीकारेर पुस्तान्तरण गर्न सक्छन् । गुटबन्दीबाट माथि उठ्न सक्छन् । विधानको सम्मान गर्न सक्छन् । जनताको निर्णय स्वीकार गर्न सक्छन् । र, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सक्छन् । त्यसो गर्न सके पुरानो दल पनि नयाँ राजनीतिक शक्तिजस्तै प्रासङ्गिक बन्न सक्छ ।
यस अर्थमा नेपाली कांग्रेससँग अझै एउटा महत्वपूर्ण सम्भावना छ । नेतृत्व परिवर्तन, पुस्तान्तरण र नयाँ राजनीतिक संस्कारको प्रतिनिधित्व गर्न सक्ने शक्ति कांग्रेसभित्र निर्माण हुन सके कांग्रेसले आफूलाई पुनः स्थापित गर्न सक्छ । गगन थापाले त्यो सम्भावनालाई व्यवहारमा प्रमाणित गर्नुपर्ने चुनौती अब उहाँकै अगाडि छ । नयाँ अनुहार हुनु मात्रै राजनीतिमा पर्याप्त हुँदैन । नयाँ राजनीतिक संस्कार स्थापित गर्ने क्षमता देखाउनुपर्छ । नयाँ सोच र नयाँ विचार अनि नयाँ कार्यशैली हुनु जरुरी छ ।
प्रश्न पुरानो कि नयाँ भन्ने होइन । प्रश्न सुधारिएको कि नसुधारिएको भन्ने हो । पुराना दलहरू सुध्रिए देशले राजनीतिक स्थिरता र संस्थागत निरन्तरता पाउन सक्छ । नसुध्रिए उनीहरू इतिहास बन्छन् । नयाँ दलहरू पनि पुरानै रोग बोकेर अघि बढे उनीहरूको नयाँपन धेरै समय टिक्दैन । समयले सबै राजनीतिक शक्तिलाई एउटै अवसर दिएको छ-सुध्रिने । जनताको निर्णय स्वीकार गर्ने । आफ्नो कमजोरी सच्याउने । र, राजनीतिक संस्कार बदल्ने । जसले यो अवसर बुझ्छ, उसैले भविष्यको नेतृत्व गर्छ । त्यसैले नयाँको विकल्प अर्को नयाँ होइन, सुधारिएको नयाँ हो ।