मानव आवाज

२०८३ भाद्र २ गते
00: 00: 00
२०८३ भाद्र २ गते

१५ मिनेटमै घरको ढोकामा चिकित्सक !

ललितपुर । ललितपुरमा अब आकस्मिक स्वास्थ्य समस्या पर्दा अस्पताल पुग्नुअघि नै चिकित्सकीय सहायता पाउन सकिने भएको छ ।

ललितपुर महानगरपालिकाले सूचना प्राप्त भएको १५ मिनेटभित्र बिरामीको घरमै चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली पुग्ने गरी नयाँ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

महानगरपालिकाले तत्काल स्वास्थ्य सहायता आवश्यक पर्ने नागरिकलाई लक्षित गरी पाँच वटा एम्बुलेन्स परिचालन गरेको छ ।

प्रत्येक एम्बुलेन्समा चिकित्सक तथा स्वास्थ्यकर्मीसहित अत्यावश्यक औषधि र स्वास्थ्य उपकरणको व्यवस्था गरिएको महानगरले जनाएको छ ।

सेवा लिनका लागि नागरिकले ११३१ नम्बरमा फोन गर्नुपर्नेछ । फोनमार्फत सूचना प्राप्त भएपछि स्वास्थ्य टोली बिरामीको अवस्थाअनुसार आवश्यक प्रारम्भिक तथा आकस्मिक उपचारसहित घरमै पुग्नेछ ।

बिरामीलाई तत्काल अस्पताल लैजानुपर्ने अवस्था देखिएमा अस्पताल पुर्‍याउनसमेत टोलीले सहयोग गर्नेछ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सेवाको शुभारम्भ गर्दै स्वास्थ्य क्षेत्रमा ललितपुर महानगरपालिकाले थालेको पहल उदाहरणीय रहेको बताउनुभयो ।

नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने यस्तो अभ्यास केही देशमा मात्रै प्रभावकारी रूपमा सञ्चालन भएको उल्लेख गर्दै उहाँले महानगरको पहलको प्रशंसा गर्नुभयो ।

“नागरिकलाई कसरी सेवा दिन सकिन्छ भनेर सोच्दै गर्ने हरेक काममा सहजीकरण गर्नेछौँ,” मन्त्री मेहताले भन्नुभयो ।

महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार नयाँ सेवाको उद्देश्य बिरामीलाई प्रारम्भिक, आकस्मिक तथा अत्यावश्यक स्वास्थ्य सहायता उपलब्ध गराएर सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउनु हो ।

“सूचना पाएको १५ मिनेटभित्र टोली बिरामीकहाँ पुग्छ । सेवा प्रदान गर्छ । तत्काल अस्पताल लैजानुपर्ने अवस्था भएमा त्यसमा पनि सहयोग गर्छ,” महर्जनले भन्नुभयो ।

महर्जनका अनुसार विदेश भ्रमणका क्रममा फिलिपिन्सको माकाटीमा यस्तै प्रकृतिको सेवा प्रभावकारी रूपमा सञ्चालन भएको देखेपछि ललितपुरमा पनि त्यसलाई लागू गर्ने अवधारणा अघि बढाइएको हो । त्यसका लागि आवश्यक कार्यविधि बनाएर सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।

महानगरपालिकाले नयाँ सेवामार्फत एम्बुलेन्सलाई केवल बिरामी ओसारपसार गर्ने साधनका रूपमा नभई बिरामीको घरमै पुगेर प्रारम्भिक उपचार र आकस्मिक स्वास्थ्य सहायता दिने मोबाइल स्वास्थ्य सेवाका रूपमा विकास गर्न खोजेको छ ।

महर्जनले जनशक्ति र स्रोतसाधन मात्रै भएर नयाँ सेवा सम्भव नहुने भन्दै अन्य देश तथा शहरका सफल अभ्यास सिकेर स्थानीय आवश्यकताअनुसार कार्यान्वयन गर्ने प्रयास भइरहेको बताउनुभयो ।

ललितपुर महानगरपालिकाको यो सेवाले विशेषगरी आकस्मिक स्वास्थ्य समस्या परेका बिरामीलाई अस्पताल पुग्नुअघि नै आवश्यक चिकित्सकीय सहायता उपलब्ध गराउने अपेक्षा गरिएको छ । (फोटोः एआइ सिर्जित)

Author

Share the News

Recent News

Related News