सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–७ स्थित मतानबास र नागी क्षेत्रको वन हुँदै दक्षिणतर्फ बग्ने सालुखोलामा रहेका झरनाहरू पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्न थालेका छन् ।
प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र स्थानीय जनविश्वाससँग जोडिएको सालुखोलामा साना–ठूला गरी करिब एक दर्जन झरना रहेका छन् ।
पछिल्लो समय यी झरनालाई सामूहिक रूपमा ‘सरस्वती झरना’ नामले चिनिन थालेको जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले बताउनुभयो ।
सालुखोलाको सरस्वती झरना हेर्दा सामान्य प्राकृतिक झरनाजस्तो देखिए पनि यसको इतिहास र स्थानीय जनविश्वास निकै पुरानो रहेको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा दाहाल बताउनुहुन्छ ।
उहाँका अनुसार सालुखोलाको आसपास वनझाँक्री, वनदेवता तथा नागनागिनीको बास हुने र यस क्षेत्रलाई दिव्यस्थलका रूपमा मान्ने परम्परा रहिआएको छ ।
विगतमा सालुखोला क्षेत्रमा दिसापिसाब गर्न नहुने, जुठा खानेकुरा फाल्न नहुनेलगायतका मान्यता र किंवदन्तीसमेत प्रचलित रहेको स्थानीयहरू बताउँछन् ।
प्राकृतिक स्रोत र धार्मिक-सांस्कृतिक विश्वाससँग जोडिएको यस क्षेत्रलाई स्थानीयले पवित्रस्थलका रूपमा समेत लिने गरेका छन् ।
कहिल्यै नसुक्ने सालुखोला
सालुखोलाको शिर सुनकोशी गाउँपालिका-७ को मतानबास र नागीको वन क्षेत्रमा पर्छ । महाभारत लेकको शिरबाट दक्षिणतर्फ छाँगोका रूपमा झर्ने यो खोलामा लामो समयसम्म खडेरी पर्दा पनि पानी नसुक्ने गरेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिलकुमार कोइरालाले जानकारी दिनुभयो ।
सालुखोलाको पानी विगतदेखि नै स्थानीय कृषि र जनजीवनसँग जोडिँदै आएको छ । तत्कालीन मझुवा गाउँ पञ्चायतले नागी, मझुवा, गैरीगाउँ र निगुली क्षेत्रमा सिँचाइका लागि सालुखोलाको पानी कुलोमार्फत लैजाने प्रयास गरेको थियो ।
त्यसक्रममा मदनबहादुर कार्की, अग्निधर प्रसाईं, तुलबहादुर गोले, रुमबहादुर कार्की र दलबहादुर कार्कीलगायत जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको महत्वपूर्ण योगदान रहेको स्थानीयहरू बताउँछन् ।
सिन्धुली जिल्ला पञ्चायतको केही सहयोग तथा मझुवालीहरूको श्रमदानमा कुलो निर्माण गरी सालुखोलाको पानी चौकीटार हुँदै धोबीखोलामा झारिएको थियो ।
तर, पछि मझुवा र भद्रकाली गाउँ पञ्चायतबिच पानीको स्रोतलाई लिएर विवाद भएपछि उक्त कुलो लामो समयसम्म सञ्चालन हुन सकेन ।
वन्यजन्तुको पुरानो बासस्थान
प्राकृतिक रूपमा समेत समृद्ध सालुखोला क्षेत्र विगतमा बाघ, भालु, घोरल, मृग, बँदेललगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको तत्कालीन जिल्ला विकास समितिका पूर्वसभापति रमेश कार्कीले बताउनुभयो ।
घना वन, खोलानाला, पहाड र झरनाको संयोजनले सालुखोला क्षेत्रलाई प्राकृतिक रूपमा आकर्षक बनाएको छ । वर्षायाममा झरनामा पानीको बहाव बढ्दा यहाँको दृश्य अझ मनमोहक बन्ने स्थानीयहरू बताउँछन् ।
हाल सालुखोला क्षेत्रमा रहेका करिब एक दर्जन झरनामध्ये मुख्य झरना दामे गाउँबाट पश्चिमतर्फ रहेको छ ।
झरनाको प्रचारप्रसार बढ्दै गएपछि मनोरञ्जन तथा प्राकृतिक सौन्दर्य अवलोकनका लागि यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ ।
पर्यटनको सम्भावना, पूर्वाधारको आवश्यकता
सालुखोलाको सरस्वती झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके स्थानीयस्तरमा रोजगारी, व्यापार तथा आर्थिक गतिविधि विस्तार गर्न सकिने सम्भावना देखिन्छ ।
सिन्धुली क्षेत्र नम्बर २ का निवर्तमान सांसद लेखनाथ राजन दाहालले सरस्वती झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सडक तथा गोरेटो बाटो निर्माण, सूचना बोर्ड, सुरक्षा व्यवस्थापन र व्यापक प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।
बीपी राजमार्गको नजिकै रहेको यस क्षेत्रलाई व्यवस्थित गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने उहाँको अपेक्षा छ ।
पर्यटकको आवागमन बढेमा स्थानीय उत्पादनको बजार विस्तारसँगै होटल, होमस्टे, यातायातलगायत क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्न सक्ने उहाँले बताउनुभयो ।
तर पर्यटकीय सम्भावनासँगै यहाँ सुरक्षा चुनौती पनि रहेको छ । वर्षायाममा झरना तथा छाँगा क्षेत्रमा ढुङ्गा खस्ने, माथिल्लो क्षेत्रमा वर्षा हुँदा आकस्मिक बाढी आउने र पहिरोको जोखिम रहने भएकाले पर्यटकले सावधानी अपनाउनुपर्ने सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा दाहालले सुझाव दिनुभयो ।
संरक्षणसँगै पर्यटन विकास
सरस्वती झरना केवल मनोरञ्जनका लागि पुग्ने स्थान मात्र नभई स्थानीय जनविश्वास, संस्कृति, इतिहास र प्राकृतिक सम्पदासँग जोडिएको क्षेत्र हो ।
त्यसैले यसको विकास गर्दा प्राकृतिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने स्थानीयहरूको भनाइ छ ।
स्थानीयका अनुसार झरना क्षेत्रमा फोहोर नगर्ने, प्राकृतिक संरचना नबिगार्ने, पानीका मुहान तथा वन क्षेत्रको संरक्षण गर्ने र स्थानीय धार्मिक–सांस्कृतिक मान्यताको सम्मान गर्ने विषयमा पर्यटकलाई सचेत गराउन आवश्यक छ ।
स्थानीयको विश्वास र प्राकृतिक सम्पदाको संरक्षण गर्दै पूर्वाधार विकास र प्रचारप्रसारलाई सँगसँगै अघि बढाउन सके सालुखोलाको सरस्वती झरना सिन्धुलीको आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ ।
प्रकृतिको अनुपम उपहारका रूपमा रहेको यस झरनाको संरक्षण र व्यवस्थित विकासले स्थानीय समुदायको जीवनस्तर उकास्नसमेत महत्वपूर्ण योगदान पुर्याउन सक्छ ।