मानव आवाज

२०८३ भाद्र ३ गते
00: 00: 00
२०८३ भाद्र ३ गते

रातिको समयमा कुखुरा ढुवानी गर्ने सवारी सञ्चालन गर्न माग

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य सङ्घले बीपी राजमार्गमा रातिको समयमा कुखुरालगायत जीवित पशुपन्छी ढुवानी गर्ने सवारीसाधन सञ्चालन गर्न दिन जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग माग गरेको छ ।

बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदा कुखुरा ढुवानी गर्ने किसान तथा व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै संघले आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष अर्जुनकुमार श्रेष्ठसहित पदाधिकारी तथा किसानको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा ज्ञापनपत्र बुझाउँदै कुखुराजस्ता जीवित पशुपन्छी ढुवानी गर्ने सवारीसाधनलाई रातिको समयमा बीपी राजमार्गमा सञ्चालन गर्न दिन माग गरेको छ ।

बीपी राजमार्गमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएकाले सिन्धुलीबाट काठमाडौं पठाइने बोइलर कुखुरा दिनको समयमा मात्र ढुवानी गर्नुपर्ने अवस्था रहेको सङ्घले जनाएको छ ।

चर्को घाम, लामो जाम तथा निर्माणाधीन सडकका कारण ढुवानीका क्रममा गाडीमै कुखुरा मर्ने गरेको र त्यसबाट किसान तथा व्यवसायीले आर्थिक क्षति व्यहोर्नुपरेको सङ्घको भनाइ छ ।

सङ्घका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार सिन्धुलीबाट मात्रै दैनिक १० भन्दा बढी गाडीमा कुखुरा काठमाडौं लैजाने गरिएको छ ।

जीवित पशुपन्छी लामो समयसम्म गाडीमै राख्दा उनीहरूको स्वास्थ्यमा असर पर्नुका साथै ठूलो सङ्ख्यामा मर्ने गरेको उहाँले बताउनुभयो ।

त्यसैले कुखुरालगायत जीवित पशुपन्छी ढुवानी गर्ने सवारीसाधनलाई रातिको समयमा समेत बीपी राजमार्गमा आवतजावत गर्न अनुमति दिन सङ्घले जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग आग्रह गरेको हो ।

२०८१ असोजमा अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग अझै निर्माणाधीन अवस्थामा छ ।

निर्माणाधीन सडकमा रातिको समयमा सवारीसाधन सञ्चालन गर्दा जोखिम हुने भन्दै काभ्रे र सिन्धुली प्रशासनले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउँदै आएका छन् ।

रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएपछि कुखुरा व्यवसायी थप मारमा परेको धमिजा बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक गोविन्द खड्काले बताउनुभयो ।

“दिउँसो कुखुरा पठाउँदा चर्को घाम र सडकको जामका कारण गाडीमै धेरै कुखुरा मर्ने गरेका छन्। त्यसैले पशुपन्छी ढुवानी गर्ने सवारीसाधनलाई रातिको समयमा पनि सञ्चालन गर्न दिनुपर्छ ।”-उहाँले भन्नुभयो ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सिन्धुली जिल्लाले मात्र निर्णय गरेर रातिको समयमा सवारीसाधन सञ्चालन गर्न सम्भव नहुने बताउनुभयो । उहाँले यस विषयमा काभ्रे जिल्लासँग समन्वय गरी आवश्यक निर्णय गरिने बताउनुभयो ।

Author

Share the News

Recent News

Related News