सिन्धुली । कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले जनताको हितमा गरिएको निर्णय कार्यान्वयन गर्ने क्रममा जेल जानुपर्ने अवस्था आए पनि आफू पछि नहट्ने बताउनुभएको छ ।
बीपी राजमार्गको केन्द्रबिन्दुबाट २१ मिटरभित्र स्थायी संरचना निर्माणका लागि घरनक्सा पास गर्ने कमलामाई नगरपालिकाको निर्णय जनताको घर, जग्गा र भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएको उहाँले बताउनुभयो ।
वर्षौंदेखि अन्योलमा रहेका नागरिकको समस्या समाधान गर्ने उद्देश्यले नगर कार्यपालिकाले निर्णय गरिसकेको उल्लेख गर्दै नगरप्रमुख पोखरेलले उक्त निर्णय कानुनी प्रक्रियाभित्र रहेर दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“जनताको पक्षमा गरिएको निर्णय कार्यान्वयन गर्दा जेल जानुपर्ने अवस्था आए पनि म पछि हट्दिनँ ।”-उहाँले भन्नुभयो ।
नगरपालिकाको निर्णय कार्यान्वयन गर्दा कानुनी प्रक्रियालाई समेत पूर्णरूपमा ध्यान दिइने उहाँले स्पष्ट पार्नुभयो ।
जनताको हितमा गरिएको निर्णयबाट कुनै दबाब वा चुनौतीका कारण पछि हट्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
उहाँले पद र सुविधा क्षणिक भए पनि जनताको विश्वास र सेवा गर्ने जिम्मेवारी आफ्ना लागि सर्वोच्च रहेको बताउनुभयो ।
जनताको घर, जग्गा र भविष्यसँग जोडिएको विषय भएकाले नागरिकको समस्या समाधान गर्नु आफ्नो प्राथमिकता रहेको उहाँले बताउनुभयो ।