मानव आवाज

२०८३ श्रावण २३ गते
00: 00: 00
२०८३ श्रावण २३ गते

कमलामाई मन्दिर परिसरमा कलात्मक २२ धाराको उद्घाटन

सिन्धुली । सिन्धुलीको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल कमलामाई मन्दिर परिसरमा निर्माण गरिएको कलात्मक २२ धाराको उद्घाटन गरिएको छ ।

कृषि विकास बैङ्क लिमिटेड, सिन्धुली शाखाका प्रबन्धक खेमराज काफ्लेले २०८३ साउन २३ गते मन्दिर परिसरमा आयोजित कार्यक्रममा २२ धाराको उद्घाटन गर्नुभएको हो ।

कमलामाई मन्दिर व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा समितिका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै शाखा प्रबन्धक काफ्लेले सिन्धुलीको धार्मिक पर्यटनको विकाससँगै धार्मिकस्थलको संरक्षण र प्रवर्धनका लागि सबै समुदायको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

कमलामाई मन्दिरलाई जिल्लाकै प्रमुख धार्मिकस्थलका रूपमा विकास गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कृषि विकास बैङ्क, सिन्धुली शाखाले कलात्मक २२ धारा निर्माणका लागि आर्थिक सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

२२ धारा निर्माणका लागि कृषि विकास बैङ्क लिमिटेड, सिन्धुली शाखाले १ लाख रुपियाँ तथा शाखा प्रबन्धक खेमराज काफ्लेले व्यक्तिगत रूपमा २१ हजार रुपियाँ सहयोग गर्नुभएको थियो ।

बैङ्क र शाखा प्रबन्धकको गरी कुल १ लाख २१ हजार रुपियाँ आर्थिक सहयोगमा मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा कलात्मक ढङ्गले २२ धारा निर्माण गरेको हो ।

मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनलाई जलस्नान गर्न सहज होस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको कमलामाई नगरपालिका-८ का वडाध्यक्ष कोमल कुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार नयाँ धाराले भक्तजनको सुविधा बढाउनुका साथै मन्दिर परिसरको सौन्दर्यसमेत थप्नेछ ।

कमलामाई मन्दिरमा पूजा, दर्शन तथा धार्मिक गतिविधिमा सहभागी हुन सिन्धुली जिल्लाभित्रका साथै बाहिरी जिल्लाबाट समेत श्रद्धालु भक्तजन आउने गरेका छन् ।

२२ धाराको निर्माणसँगै मन्दिर परिसरमा भक्तजनका लागि थप सुविधा उपलब्ध हुनुका साथै धार्मिकस्थलको आकर्षणसमेत बढ्ने अपेक्षा गरिएको छ ।

कमलामाई मन्दिर व्यवस्थापन समितिले धार्मिकस्थलको संरक्षण, पूर्वाधार विकास तथा भक्तजनका लागि आवश्यक सुविधाको विस्तारलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

मन्दिर संरक्षण तथा पूर्वाधार विकासका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट समेत बजेट विनियोजन हुँदै आएको समितिले जनाएको छ ।

धार्मिक तथा पर्यटकीयस्थलका रूपमा कमलामाई मन्दिरको व्यवस्थित विकास, संरक्षण र प्रवर्द्धन गर्दै लैजाने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणलाई निरन्तरता दिइने समितिले जनाएको छ ।

Authors

Share the News

Recent News

Related News