काठमाडौँ । मानवअधिकार समुदायले सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समुदायबिच भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि स्वतन्त्र आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
२६ जना अधिकारकर्मीद्वारा २०८३ साउन १३ गते जारी संयुक्त प्रेस विज्ञप्तिमा २०८३ साउन १० गते राति प्रहरी र सशस्त्र प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भिड नियन्त्रणका क्रममा सुरक्षा निकायले आवश्यक संयमता अपनाउन नसकेको आरोप लगाइएको छ ।
विज्ञप्तिअनुसार अधिकांश घाइतेको कम्मरभन्दा माथि गोली लागेको उल्लेख गर्दै प्रहरीले घातक बल प्रयोग गर्नुअघि अपनाउनुपर्ने वैकल्पिक उपाय पर्याप्त रूपमा अवलम्बन नगरेकोमा दुःख व्यक्त गरिएको छ ।
विज्ञप्तिमा सम्पूर्ण घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ ।
प्रशासनिक तहको छानबिन समिति मात्र पर्याप्त नभएको भन्दै स्वतन्त्र आयोगमार्फत घटनाको अनुसन्धान गरिनुपर्ने माग गरिएको छ ।
नागरिक समाजका प्रतिनिधिहरूले आन्तरिक सुरक्षाको जिम्मेवारी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भए पनि नेपाली सेनाको तत्काल परिचालन गरिएको विषयमा समेत सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् । यसले प्रहरी सङ्गठनको मनोबलमा असर पर्न सक्ने उनीहरूको धारणा छ ।
विज्ञप्तिमा हालै गृहमन्त्रीको सीमा क्षेत्र भ्रमणलगत्तै हिंसा फैलिनुले गृह प्रशासन नागरिक सुरक्षाप्रति पर्याप्त संवेदनशील र प्रभावकारी हुन नसकेको टिप्पणी गरिएको छ ।
यस्तै, यस्तो संवेदनशील अवस्थामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक नबस्नुले सरकारले अन्तरसामुदायिक सद्भाव कायम गर्न आवश्यक गम्भीरता नदेखाएको आरोप पनि लगाइएको छ ।
नेपालको सामाजिक विविधतालाई ध्यानमा राख्दै सबै पक्षलाई आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप कायम राख्न आह्वान गरिएको छ ।
खुला सीमाका कारण हुन सक्ने सम्भावित उक्साहट, प्रलोभन र घुसपैठप्रति सरकार तथा नागरिक दुवै सचेत रहनुपर्नेमा जोड दिँदै दीर्घकालीन शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गरिएको छ । (फोटोः एआइ जेनेरेटेड)