विराटनगर । चुडाकवि स्मृति प्रतिष्ठानले विद्यार्थीलाई कृषिको महत्वबारे व्यवहारिक ज्ञान दिने उद्देश्यसहित विविध कार्यक्रम आयोजना गरी २०८३ असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ ।
मोरङको बुढीगंगा गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै दिवस मनाएका हुन् ।
स्मृति इङ्ग्लिस बोर्डिङ स्कुल र प्यारागन एकेडेमी सेकेन्डरी स्कुलको प्रायोजनमा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई कृषि, धान उत्पादन र राष्ट्रिय धान दिवसको महत्वबारे प्रत्यक्ष अनुभूति गराउने उद्देश्य राखिएको प्रतिष्ठानकी रिता न्यौपानेले जानकारी दिनुभयो ।
स्मृति बाल क्लबको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा बुढीगङ्गा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदार, गाउँपालिकाका पूर्वअध्यक्ष बालचन्द्र माझी, प्राध्यापक कविराज न्यौपानेलगायत दुवै विद्यालयका करिब ५ सय विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले खेतमै धान रोपाइँमा सहभागी हुँदै कृषि संस्कृतिसँग प्रत्यक्ष जोडिने अवसर पाएका थिए ।
आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीमा कृषि पेशाप्रति सम्मान र खाद्य सुरक्षाबारे सकारात्मक चेतना विकास हुने विश्वास व्यक्त गरेको छ ।