काठमाडौं । ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागिता जनाउन नेपाली विद्यार्थीहरूको टोली २०८३ असार ७ गते चीनतर्फ प्रस्थान गरेको छ ।
म्याथम्याटिकल एसोसिएसन अफ नेपाल (म्यान) का महासचिव तथा कार्यक्रम संयोजक छवि ढुङ्गानाले टोलीमा बर्दियाका मिशन जोशी, मोरङका युगान्तर कालाखेती, सङ्खुवासभाका प्रसिद्ध थापा, ललितपुरका आयाम आचार्य, कास्कीका अरिज पोखरेल र धादिङका निशान खत्रीको सहभागिता रहेको बताउनुभयो ।
सन् २०१७ मा ब्राजिलमा आयोजित अन्तर्राष्ट्रिय गणित ओलम्पियाडबाट सहभागिता सुरु गरेको नेपालको यो दशौँ सहभागिता हो । यस वर्षको प्रतियोगितामा नेपालसहित करिब १ सय २० देशका विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल सरकारको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गत ‘ओलम्पियाड कार्यक्रम सञ्चालन कार्यविधि-२०८२’ अनुसार म्याथम्याटिकल एसोसिएसन अफ नेपालले प्रतियोगिता सञ्चालन गरेको हो ।
संस्थाका अध्यक्ष एवम् कन्ट्री लिडर हरि कँडेलका अनुसार देशभरबाट करिब २ हजार ५ सयभन्दा बढी विद्यार्थी सहभागी भएको छनोट प्रक्रियामार्फत जिल्ला, प्रदेश र केन्द्रीय चरणका परीक्षा तथा ६ महिनाभन्दा बढीको विशेष प्रशिक्षणपछि अन्तिम ६ जना विद्यार्थी चयन गरिएको हो ।
कँडेलले विद्यार्थीहरूलाई निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गरिँदै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमका लागि सरकारी निकायबाट थप सहयोग प्राप्त भए नेपालको प्रदर्शन अझ सुदृढ बनाउन सकिने बताउनुभयो ।
अन्तिम प्रतिस्पर्धाअघि नेपाली टोली चीनको बेइजिङमा आयोजना हुने २१ दिने बन्द प्रशिक्षणमा सहभागी हुने कार्यक्रम रहेको छ । उक्त प्रशिक्षणमा ७० भन्दा बढी देशका टोलीहरूको सहभागिता रहने जनाइएको छ ।
राष्ट्रिय प्रशिक्षक इन्जिनियर प्रजित अधिकारीले टोली उत्कृष्ट नतिजाका लागि पूर्ण रूपमा तयार रहेको बताउनुभयो ।
कार्यक्रमको सहनेतृत्व म्यानका कोषाध्यक्ष नारायण पौडेलले गरिरहनुभएको छ । नेपाली टोली आगामी जुलाई २३ मा स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
अन्तर्राष्ट्रिय गणित ओलम्पियाडलाई विश्वकै प्रतिष्ठित शैक्षिक प्रतियोगितामध्ये एक मानिन्छ ।