मानव आवाज

२०८३ असार ६ गते
00: 00: 00
२०८३ असार ६ गते

कृषिफार्म र उद्योगलाई विशेष प्राथमिकता दिन सभापति रुचालको माग

पोखरा । गण्डकी प्रदेश सभाको १०औँ अधिवेशनअन्तर्गत बिहीबार बसेको बैठकमा सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रुचालले कृषि, उद्योग र पूर्वाधार विकासलाई विशेष प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभएको छ ।

शून्य समयमा बोल्दै सभापति रुचालले प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथिको छलफलका क्रममा कृषि, पशुपालन तथा औद्योगिक क्षेत्रलाई उपेक्षा गर्न नहुने बताउनुभयो ।

उहाँले कृषि फार्म र उद्योगहरूले राज्यलाई कर तिर्नुका साथै हजारौँ युवालाई रोजगारी प्रदान गरिरहेको उल्लेख गर्दै यस्ता क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले कृषि तथा औद्योगिक क्षेत्रसम्म सडक पहुँच विस्तार र सिँचाइ सुविधा उपलब्ध गराउनु सरकारको दायित्व भएको बताउँदै नवलपुर जिल्लाका विभिन्न कृषि फार्म तथा सिमेन्ट उद्योगलगायत औद्योगिक क्षेत्रमा आवश्यक पूर्वाधार विकास गर्न माग गर्नुभयो ।

सभापति रुचालले होङसी सिमेन्ट उद्योग, दाउन्ने एग्रो फार्म, हिडेन भ्याली कृषि फार्म, सफल कृषि फार्म र गौतम एग्रिकल्चरल फार्मलगायतका कृषि तथा औद्योगिक प्रतिष्ठानहरूको प्रवर्धन, सुरक्षा र विस्तारका लागि विशेष बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यी क्षेत्रहरूले ठूलो सङ्ख्यामा युवालाई स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गरिरहेको उल्लेख गर्दै उहाँले उत्पादनमुखी क्षेत्रको संरक्षण र प्रोत्साहनमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

प्रदेशको आर्थिक समृद्धिका लागि कृषि र उद्योग क्षेत्रको विकास अपरिहार्य रहेको भन्दै सभापति रुचालले यसतर्फ ठोस योजना, पर्याप्त बजेट तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Author

Share the News

Related News