मानव आवाज

२०८३ असार ४ गते
00: 00: 00
२०८३ असार ४ गते

क्षमताभन्दा दोब्बर बालक राखिँदा भैरहवा बाल सुधार गृहमा मानवअधिकार चुनौती

भैरहवा प्रतिनिधिसभा कानुन, न्याय तथा मानवअधिकार समिति अन्तर्गत गठित बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी अध्ययन उपसमितिले भैरहवास्थित बाल सुधार गृहको निरीक्षण गर्दा क्षमता भन्दा बढी बालक राखिएको पाइएको छ ।

उपसमिति संयोजक सांसद नीनुकुमारी कर्णसहित सदस्यहरू खिमा विक, भूमिका श्रेष्ठ र साजिदा खातुन सिद्धिकीले २०८३ असार ३ गते बाल सुधार गृहको स्थलगत अनुगमन गर्नुभएको हो ।

अनुगमनपछि सांसद साजिदा खातुन सिद्धिकीले सुधार गृहमा अत्यधिक भीडभाड रहेको र त्यसले बालबालिकाको मानसिक तथा सामाजिक विकासमा नकारात्मक असर पार्न सक्ने बताउनुभयो ।

उहाँका अनुसार लामो समयसम्म सीमित र साँघुरो कोठामा बस्न बाध्य हुँदा बालकहरूको मनोविज्ञान प्रभावित हुने जोखिम बढेको छ ।

सांसद सिद्धिकीले बालबालिकाले संविधान र कानुनले सुनिश्चित गरेका अधिकार व्यवहारमै प्राप्त गर्नुपर्ने बताउँदै बाल सुधार गृहको व्यवस्थापनमा सङ्‌घ, प्रदेश र स्थानीय सरकारसँगै राजनीतिक दल, प्रहरी प्रशासन तथा नागरिक समाजको साझा जिम्मेवारी रहने उल्लेख गर्नुभयो ।

निरीक्षणमा सहभागी सिद्धार्थनगर नगरपालिकाकी प्रमुख उमा अधिकारीले पनि भैरहवा बाल सुधार गृहको स्थानान्तरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सुधार गृहको भौतिक तथा व्यवस्थापकीय सुधार अपरिहार्य रहेको बताउनुभयो ।

वि.सं. २०७५ मा स्थापना भएको भैरहवा बाल सुधार गृहमा हाल १ सय ११ जना बालक रहेका छन् । निरीक्षण टोलीले सुधार गृहको क्षमता, बसोबास, सुरक्षा, स्वास्थ्य तथा बाल अधिकारको समग्र अवस्थाबारे जानकारी लिएको थियो ।

मानवअधिकारसम्बन्धी संसदीय उपसमितिको निरीक्षणपछि बाल सुधार गृहको भीडभाड र व्यवस्थापनको विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा आएको छ ।

Author

Share the News

Recent News

Related News