मानव आवाज

२०८३ जेष्ठ २६ गते
00: 00: 00
२०८३ जेष्ठ २६ गते

घ्याङलेखमा स्थानीय तह र मानव अधिकार विषयक प्रशिक्षण सम्पन्न

सिन्धुली घ्याङलेख गाउँपालिका, सिन्धुली र इन्सेक बागमती प्रदेश कार्यालयको आयोजनामा, राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य तथा स्वाधीन खबर पत्रिकाको समन्वयमा स्थानीय तह र मानव अधिकार विषयक प्रशिक्षण कार्यक्रम २०८३ जेठ २५ गते सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले मानव अधिकारसम्बन्धी महत्वपूर्ण कार्यक्रम पालिकामा आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उहाँले गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा मानव अधिकार, सुशासन, पछाडि पारिएका वर्ग तथा समुदायको सशक्तीकरण, महिलाको आर्थिक समृद्धि, महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि कानुनी सचेतना, समानता, सामाजिक समावेशीकरण, सामाजिक परीक्षण, बालअधिकार संरक्षणका लागि विभिन्न समूह गठन, डिजिटल सुशासन, सूचनाको हकको प्रत्याभूति तथा न्यायिक समितिको क्षमता विकासलगायतका कार्यक्रम समावेश गरी कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले प्रत्येक स्थानीय तहले मानव अधिकारका विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजनामा समेटिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

प्रहरी निरीक्षक किरण थापा मगरले मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गर्ने नैसर्गिक अधिकार भएको उल्लेख गर्दै यसमा कुनै पनि प्रकारको विभेद गर्न नपाइने बताउनुभयो ।

उहाँले संविधान तथा कानुनद्वारा प्रदत्त नागरिक अधिकारको संरक्षणका लागि नेपाल प्रहरी सदैव प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकारको संरक्षण गर्ने प्रमुख दायित्व राज्यको भएको उल्लेख गर्दै तीनै तहका सरकार मानव अधिकारप्रति जिम्मेवार र जवाफदेही बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले विकास निर्माणका हरेक चरणमा मानव अधिकारमैत्री विकास पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालय हेटौँडाका मानव अधिकार अधिकृत कृष्णप्रसाद मिश्रले संविधानले आयोगलाई मानव अधिकारको अवस्थाबारे अनुगमन तथा अनुसन्धान गरी सरकारलाई आवश्यक सिफारिस गर्ने अधिकार दिएको बताउनुभयो ।

उहाँले स्थानीय तहमा हुने सामान्य विवाद तथा घटनाको निरुपण गर्ने जिम्मेवारी स्थानीय न्यायिक समितिलाई प्रदान गरिएको उल्लेख गर्दै न्यायिक समितिको प्रभावकारिता अभिवृद्धिका लागि त्यसलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्नुभयो ।

स्वाधीन खबर पत्रिकाका प्रधान सम्पादक रुद्रबहादुर खड्काले मानव अधिकारसम्बन्धी विषयवस्तु ग्रामीण तहसम्म पुर्‍याई जनचेतनामूलक सन्देश प्रवाह गर्न मानव अधिकार प्रशिक्षक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

मानव अधिकार शिक्षाको पहुँच नपुगेका क्षेत्रमा सूचना तथा सञ्चारका माध्यमबाट आवाजविहीनहरूको आवाजलाई संरक्षण र प्रवर्धन गर्न स्थानीय तहले विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

सहभागीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै नेत्रकली माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन सापकोटाले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

उहाँले अधिकारको उपभोगसँगै कर्तव्य पालनलाई पनि समान महत्व दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

शिक्षिका कमला ढकालले मानव अधिकार शिक्षालाई विद्यालय तहदेखि नै समावेश गर्नुपर्ने बताउँदै पछाडि पारिएका वर्ग तथा समुदायप्रति विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

Author

Related News