काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा वर्ल्ड भिजन इन्टरनेसनल नेपालले ‘एक बालबालिका, एक बिरुवा’ राष्ट्रिय अभियान २०८३ जेठ २२ गतेबाट सुरु गरेको छ ।
अभियानमार्फत देशका विभिन्न क्षेत्रका १७ जिल्लामा करिब ८० हजार बालबालिकालाई वृक्षरोपणमा सहभागी गराइने वर्ल्ड भिजन इन्टरनेसनल नेपालकी सञ्चार प्रवन्धक उमा थापाले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत बालबालिकाले परिवार, विद्यालय, स्थानीय सरकार र सामुदायिक वन समूहसँग समन्वय गरेर हिमाल, पहाड र तराई क्षेत्रमा बिरुवा रोप्नेछन् ।
स्थानीय वातावरणअनुकूल तथा पोषणमा समेत सहयोग पुग्ने फलफूलका बिरुवालाई प्राथमिकता दिइने बताइएको छ ।
वर्ल्ड भिजनका अनुसार अभियानले बालबालिकामा वातावरण संरक्षणप्रति जिम्मेवारी भावना विकास गर्नुका साथै जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
अभियानअन्तर्गत रोपिएका बिरुवाको निगरानीका लागि ‘माइ ट्री कार्ड’ प्रयोग गरिने र नियमित अनुगमनसमेत गरिने व्यवस्था गरिएको छ ।