मानव आवाज

२०८३ जेष्ठ १४ गते
00: 00: 00
२०८३ जेष्ठ १४ गते

आइतबार विद्यालय बन्द गर्ने निर्णयप्रति उपत्यका मेयर्स फोरमको आपत्ति

ललितपुर । उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आइतबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको संवैधानिक अधिकार कुण्ठित गरेको भन्दै आपत्ति जनाएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा बसेको फोरमको बैठकले सरकारको निर्णय संविधान र शिक्षा ऐनको मर्मविपरीत रहेको निष्कर्ष निकालेको हो । बैठकले केन्द्र सरकारसँग उक्त निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीय तहले आफ्नो शैक्षिक क्यालेन्डर बनाइसकेको अवस्थामा केन्द्र सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आइतबार बिदा दिने निर्णय गर्नु स्थानीय तहको अधिकारमाथिको हस्तक्षेप भएको बताउनुभयो ।

उहाँले शिक्षा ऐनअनुसार विद्यालय वर्षमा २ सय २० दिन सञ्चालन हुनुपर्ने व्यवस्था रहेकाले आइतबार बिदा दिँदा अध्ययन–अध्यापन प्रभावित हुने र विद्यालय १ सय ९० दिन पनि सञ्चालन गर्न कठिन हुने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो ।

महर्जनले आवश्यक परे कानुनी प्रक्रियामा जाने चेतावनी दिँदै संविधानको अनुसूची–८ अनुसार आधारभूत शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको स्मरण गराउनुभयो ।

फोरमले केन्द्र सरकारको निर्णयले स्थानीय तहको संवैधानिक तथा कानुनी अधिकारमा हस्तक्षेप गरेको आरोप लगाउँदै यसको समाधानका लागि काठमाडौँ भ्याली मेयर्स फोरमको सचिवालयलाई अध्ययनको जिम्मेवारी समेत दिएको जनाएको छ ।

Author

Related News