काठमाडौं । वि.सं. २०८२ साल वैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्म देशभर प्रेस स्वतन्त्रतासम्बन्धी १ सय २० ओटा घटना भएको पाइएको छ । प्रेस काउन्सिल नेपालले गरेको स्वअनुगमनले यस्तो तथ्य उजागर गरेको हो ।
उक्त अवधिमा पत्रकारमाथि हुने घटनामध्ये सबैभन्दा बढी धम्कीका घटना रहेका छन् । कुल ३५ ओटा धम्कीका घटना दर्ता भएका छन् भने २४ ओटा आक्रमण, १६ ओटा दुर्व्यवहार, नौ ओटा कब्जा तथा अवरोधका घटना भएका छन् ।
त्यसैगरी ६ जना पत्रकार गिरफ्तारीमा परेका छन् भने १५ जनाले पेसागत असुरक्षाको सामना गर्नुपरेको छ । नीतिगत बन्देजका तीन घटना, एक शङ्कास्पद मृत्यु र अन्य एक घटना पनि अभिलेखमा समावेश छन् ।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेश सबैभन्दा प्रभावित देखिएको छ, जहाँ ५७ ओटा घटना भएका छन् ।
त्यसपछि मधेस प्रदेशमा २७, कोशीमा १०, सुदूरपश्चिममा नौ, लुम्बिनीमा आठ र गण्डकीमा ६ घटना भएका छन् । कर्णाली प्रदेशमा भने सबैभन्दा कम तीन ओटा घटना दर्ता भएका छन् ।
१ सय ६७ जना पत्रकार प्रभावित भएकामा १ सय ५७ जना पुरुष र १० जना महिला रहेका छन् ।
घटना सङ्ख्या १ सय २० भए पनि एउटै घटनामा एकभन्दा बढी पत्रकार प्रभावित हुने भएकाले पीडितको सङ्ख्या बढी देखिएको हो ।
प्रेस स्वतन्त्रतामाथि निरन्तर चुनौती देखिएको यो तथ्याङ्कले पत्रकार सुरक्षाको सवाल अझै गम्भीर रहेको सङ्केत गरेको छ ।
