सिन्धुली । कमलामाई नगरपालिका-५ स्थित सिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारमा आयोजित दुई दिने बहुविधागत राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा विभिन्न देश तथा जिल्लाका विश्वविद्यालय, क्याम्पस र अनुसन्धान संस्थाबाट प्राध्यापक, अनुसन्धानकर्ता तथा शिक्षाविद्हरू गरी दुई सयभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
क्याम्पस प्रमुख डा. नानीबाबु घिमिरेका अनुसार सम्मेलनको उद्देश्य विभिन्न शैक्षिक तथा अनुसन्धान संस्थामा भएका अनुसन्धानका निष्कर्षलाई साझा गर्दै उत्पादन भएको ज्ञानको प्रचारप्रसार गर्नु रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले वर्तमान शैक्षिक चुनौती, नवीन शिक्षण पद्धति तथा अनुसन्धानका विषयमा अनुभव आदानप्रदान गरेका थिए ।
सम्मेलनले शैक्षिक अनुसन्धान प्रवर्धन र गुणस्तरीय शिक्षा विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा वक्ताका रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसे, जनस्वास्थ्य विशेषज्ञ डा. अरुणा उप्रेती तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. रामकुमार फुयालको सहभागिता रहेको थियो ।
क्याम्पसले जिल्लामै पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।