रुद्रबहादुर खड्का, सिन्धुली ।
सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र वितरण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घले देशव्यापी दबाबमूलक अभियान सञ्चालन गरेको छ ।
सोही अभियानअन्तर्गत नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुलीले २०८३ वैशाख १५ गते जिल्ला समन्वय समितिमार्फत नगरपालिका तथा गाउँपालिका महासंघलाई ज्ञापनपत्र बुझाएको छ ।
महासङ्घले केन्द्रीय समितिको निर्णयअनुसार उक्त ज्ञापनपत्र बुझाउँदै सङ्घीय सरकारको निर्णय अवज्ञा गर्न सबै स्थानीय तहलाई आह्वान गरेको जनाएको छ ।
महासङ्घका अनुसार उक्त निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय मापदण्ड, नेपालको संवैधानिक व्यवस्था, खुला अर्थनीति तथा सङ्घीयताको मर्मविपरीत रहेको ठहर गरिएको छ ।
सोही आधारमा सिन्धुली शाखाले स्थानीय तहलाई सङ्घीय सरकारको निर्णय कार्यान्वयन नगर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।
महासङ्घले यसअघि पनि विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन गरिसकेको उल्लेख गर्दै माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी दिएको छ ।
सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि विभेद सिर्जना गर्ने तथा स्वतन्त्र पत्रकारिताको अस्तित्वमै असर पार्ने महासङ्घको भनाइ छ ।
यस्तै, एक पक्षीय ढङ्गले शासन सञ्चालन गर्न खोजिए देशमा भयावह अवस्था सिर्जना हुन सक्ने जिल्ला समन्वय समितिले जनाएको छ ।