रुद्रबहादुर खड्का, सिन्धुली
घ्याङलेख गाउँपालिकास्थित सिम्लेखोला-हायूटार-सोलाभज्याङ सडक खण्डको उद्घाटन गरिएको छ ।
करिब १७ किलोमिटर लामो उक्त सडक कालोपत्रे सम्पन्न भएपछि बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दिनेशचन्द्र देवकोटाले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा मन्त्री देवकोटाले दुर्गम क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले देशको समग्र विकास गाउँबाट सुरु हुनुपर्ने धारणा व्यक्त गर्दै सुशासन, शान्ति, विकास र भ्रष्टाचारमुक्त प्रदेश निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
साथै सङ्घीय स्तरमा देखिएका विकृति र विसङ्गतिहरू हटाउन सामूहिक प्रयास जरुरी रहेको बताउँदै बागमती प्रदेशलाई गतिशील र नमुना प्रदेशका रूपमा अघि बढाउने लक्ष्य व्यक्त गर्नुभयो ।
उक्त सडक खण्डअन्तर्गत निर्माण भएका दुई ओटा पक्की पुलको पनि उद्घाटन गरिएको छ । सिम्लेखोला-हायूटार र हायूटार-सोलाभज्याङ गरी दुई खण्डमा सडक कालोपत्रे गरिएको हो ।
सिम्लेखोला-हायूटार खण्ड (१०.२० किमी) को निर्माण ठेक्का श्री जयबाबा गोरख-सारस-बालबोट जे.भी., काठमाडौँले पाएको थियो ।
यस खण्डको निर्माण कार्य २४ करोड ८८ लाख ८३ हजार रुपियाँ लागतमा सम्पन्न गरिएको हो । ठेकेदार कम्पनीले विसं. २०८० असार १९ गते सम्झौता गरी २०८२ पुस २८ गते निर्माण सम्पन्न गरेको पूर्वाधार विकास कार्यालय, सिन्धुलीले जनाएको छ ।
त्यसैगरी हायूटार-सोलाभज्याङ खण्ड (६.३० किमी) को निर्माण कार्य श्री संजिव-सिन्धुली जे.भी.ले सम्पन्न गरेको हो ।
यस खण्डको लागत १० करोड ८० लाख ३८ हजार रुपियाँ रहेको छ । कम्पनीले विसं. २०८१ जेठ १४ गते सम्झौता गरी २०८२ कात्तिक २८ गते निर्माण कार्य पूरा गरेको पूर्वाधार विकास कार्यालय, सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यही सडक खण्डअन्तर्गत घ्याङलेख गाउँपालिका-२ मा पर्ने दुई ओटा खोलामा पक्की पुल पनि निर्माण गरिएको छ ।
ठाडी खोलामा ५ करोड ८७ लाख ९६ हजार रुपियाँ लागतमा ४० मिटर लामो पुल निर्माण गरिएको हो ।
उक्त पुल निर्माणको जिम्मा श्री श्रृजना निर्माण सेवा, सिन्धुलीले लिएको थियो । कम्पनीले विसं. २०८१ जेठ १४ गते सम्झौता गरी २०८२ जेठ १३ गते निर्माण सम्पन्न गरेको हो ।