रुद्र बहादुर खड्का, काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले रेडियो नेपालको भूमिका मुलुकमा लोकतन्त्र स्थापना र यसको सुदृढीकरणमा महत्वपूर्ण रहेको बताउनुभएको छ ।
काठमाडौँमा २०८२ चैत २० गते आयोजित रेडियो नेपालको ७६औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सञ्चारमाध्यमले जनतालाई सुसूचित गराउने र लोकतन्त्रलाई संस्थागत गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्ने बताउनुभयो ।
उहाँले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न पत्रकार तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।
२००७ साल चैत २० गते स्थापना भएको रेडियो नेपाल देशको जेठो सञ्चारमाध्यम हो । प्रसार विभागअन्तर्गत स्थापना भएको रेडियो नेपाल विकास समिति ऐन, २०१३ बमोजिम २०४१ साल भदौ १ गते विकास समितिमा रूपान्तरण भएको थियो ।
सार्वजनिक सेवा प्रसारण ऐनअनुसार २०८१ कात्तिक २३ गतेदेखि यो संस्था सार्वजनिक सेवा प्रसारण संस्था (पीएसबी) का रूपमा सञ्चालनमा आएको छ ।
हाल रेडियो नेपालका तीन मिडियम वेभ प्रसारण केन्द्रसहित सातै प्रदेशमा प्रादेशिक प्रसारण कार्यालय सञ्चालनमा छन् ।
कोशी प्रदेशको विराटनगरस्थित तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामबाट समेत सेवा दिइँदै आएको छ ।

देशभर ३६ ओटा एफएम रिले स्टेसनमार्फत २४सै घण्टा प्रसारण हुने रेडियो नेपालले २६ भाषामा समाचार तथा २५ भाषामा विभिन्न कार्यक्रम प्रसारण गर्दै आएको छ ।
मन्त्री तिमिल्सिनाले बदलिँदो समयसँगै रेडियोको दायरा फराकिलो बन्दै गएको उल्लेख गर्दै संस्थाको सुदृढीकरणमा कार्यरत कर्मचारी र पत्रकारको इमान्दारिता र जिम्मेवारी महत्वपूर्ण हुने बताउनुभयो । “इमान्दारितासाथ काम गरे संस्था र देश दुवै राम्रो बन्छन्,” उहाँले भन्नुभयो ।
उहाँले सरकार पारदर्शिता र जबाफदेहितामा प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको ‘सेटिङ’ वा अनियमितता सहन नहुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले विभिन्न उतारचढाव पार गर्दै रेडियो नेपाल अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो ।
उहाँले सार्वजनिक सेवा प्रसारण प्रणाली कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरू क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले बदलिँदो प्रविधिसँगै रेडियो नेपाललाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँका अनुसार रेडियो नेपालको पहुँच हाल करिब ९४ प्रतिशत नागरिकसम्म पुगेको छ ।