रुद्रबहादुर खड्का, सिन्धुली ।
बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लाका नौ वटा स्थानीय तहमध्ये अधिकांश पालिकाहरूले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाहलाई व्यवस्थित बनाउँदै लगेका छन्। नयाँ भवन निर्माणसँगै सेवाग्राहीले सहज र प्रभावकारी सेवा पाउन थालेका छन् ।
सिन्धुलीको फिक्कल गाउँपालिका सहित दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरिसकेका छन् । कमलामाई नगरपालिकाले भने पहिलेदेखि नै आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएको छ ।
पछिल्लो पटक फिक्कल गाउँपालिकाले गत माघ महिनाको अन्तिम सातादेखि नवनिर्मित सुविधा सम्पन्न भवनबाट सेवा सुरु गरेको छ ।
करिब पाँच वर्षअघि निर्माण थालिएको ३३ कोठे भवनबाट औपचारिक रूपमा सेवा सुरु गरिएको हो । यसअघि साँघुरा र अपर्याप्त कोठाबाट सेवा दिनुपर्दा सेवाग्राहीले सास्ती भोग्दै आएका थिए ।
गाउँपालिका अध्यक्ष पार्वती सुनुवारका अनुसार सङ्घीय सरकारको करिब सात करोड रुपियाँ सहयोगमा उक्त भवन निर्माण गरिएको हो ।
२०७८ साल पुसमा शिलान्यास गरिएको भवन निर्माण कार्य धुलिखेल निर्माण सेवाले सम्पन्न गरेको हो ।
यता, भाडाको घरबाट सेवा सञ्चालन गर्दै आएको गोलन्जोर गाउँपालिकाले पनि आफ्नै चारतले ३८ कोठे प्रशासनिक भवन निर्माणलाई तीव्रता दिएको छ ।
कुल ६ करोड ११ लाख ११ हजार रुपैयाँ (भ्याट बाहेक) लागतको उक्त भवन अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष शंकर बरालले जानकारी दिनुभयो ।
हाल भवनमा रङरोगन, झ्यालढोका जडान, मार्बल बिछ्याउने तथा खानेपानी र धारा जडानको काम भइरहेको छ ।
“आगामी वैशाख महिनाबाट नयाँ भवनबाटै सेवा सुरु गर्ने लक्ष्य छ,” अध्यक्ष बरालले भन्नुभयो । निर्माण लागतको ६० प्रतिशत नेपाल सरकारको स्थानीय पूर्वाधार कार्यालयले र ४० प्रतिशत गाउँपालिकाले व्यहोरेको छ । भवन निर्माणको जिम्मा पाइनस कन्स्ट्रक्सन प्रालि, बानेश्वरले लिएको छ ।
घ्याङलेख गाउँपालिकाको प्रमुख प्रशासनिक भवन निर्माण कार्य भने अझै सम्पन्न हुन सकेको छैन । करिब तीन वर्षदेखि निर्माण भइरहेको उक्त भवन हालसम्म ७० प्रतिशत मात्र सम्पन्न भएको छ ।
पाँच करोड ६३ लाख रुपैयाँ लागतको उक्त भवन निर्माणका लागि २०७९ साल भदौ ३१ गते सम्झौता गरिएको थियो । निर्माण कम्पनी पिपी ईश्वरी जेभी, मन्थली रामेछापले काम गरिरहेको छ ।
समयमै भवन निर्माण सम्पन्न नहुँदा घ्याङलेख गाउँपालिकाले हाल दुई फरक स्थानबाट सेवा दिन बाध्य भएको छ ।
साना र अपुग कोठाका कारण सेवाप्रवाहमा समस्या भइरहेको प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो ।
हाल प्रशासनिक काम वडा नं. २ को भवनबाट सञ्चालन भइरहेको छ भने विषयगत शाखाहरू करिब तीन किलोमिटर टाढा डुम्रेमा रहेको भवनबाट सञ्चालन हुँदै आएका छन् ।
स्थानीय तहहरूले धमाधम आफ्नै प्रशासनिक भवन निर्माणसँगै सेवा प्रवाहलाई व्यवस्थित बनाउँदै लगे पनि केही स्थानमा निर्माण ढिलाइ हुँदा सेवाग्राहीले अझै सास्ती खेप्नुपरेको अवस्था रहेको छ ।