काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८२ चैत १९ गतेदेखि देशभर सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार ७७ वटै जिल्लाबाट तयारी सम्पन्न भएको जानकारी आएको छ । प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगिसकेको छ भने केन्द्राध्यक्ष, कर्मचारी र सुरक्षाकर्मीसमेत परिचालन भइसकेका छन् ।
यस वर्ष देशभर १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन्, जसमा एउटा केन्द्र जापानमा पनि राखिएको छ। ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले एसईई परीक्षा दिनेछन्, जसमा २ लाख ५७ हजार ६ सय १३ जना छात्रा छन् ।
शैक्षिक क्यालेन्डरअनुसार चैतको पहिलो सातामा हुनुपर्ने परीक्षा प्रतिनिधिसभा चुनाव २०८२ का कारण सारेर चैत १९ गतेका लागि सञ्चालन गर्न लागिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यार्थीलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गरेको छ। एक महिनामा नै नतिजा सार्वजनिक गर्ने गरी कपी परीक्षणलगायतका काम गर्ने बताइएको छ ।
ललितपुरमा १० हजार ५ सय ९५ परीक्षार्थी
यो परीक्षामा ललितपुर जिल्लाका ४० केन्द्रबाट १० हजार ५ सय ९५ विद्यार्थी सहभागी हुँदैछन्। नियमित साधारणतर्फ १० हजार २८ र नियमित प्राविधिकतर्फ १ सय ९ विद्यार्थी सहित ग्रेड वृद्धि साधारणतर्फ ४ सय ५९ जना विद्यार्थी सहभागी हुने भएका हुन् ।
ललितपुर जिल्लाका कुल २ सय ८५ ओटा माध्यमिक विद्यालयमध्ये सामुदायिकतर्फ ७७ र संस्थागत तर्फ २ सय ८ विद्यालयका विद्यार्थी परीक्षामा सामेल हुन लागेका हुन् ।
खुल्ला विद्यालयमार्फत नखु जेलमा रहेका १२ परीक्षार्थीले समेत परीक्षामा सहभागिता जनाउँदैछन् । परीक्षामा जिल्लाभित्रबाट ५ हजार ५२ छात्रा र ५ हजार ५ सय ४३ छात्र सहभागी हुँदैछन् ।