मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

नेपाल पत्रकार महासङ्घ ७१औँ वर्षमा प्रवेश, सिन्धुलीमा दीप प्रज्वलन

रुद्रबहादुर खड्का, सिन्धुली ।

नेपाल पत्रकार महासङ्घ आजदेखि ७१औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा महासङ्घको जिल्ला शाखा सिन्धुलीले दीप प्रज्वलन कार्यक्रम आयोजना गरी दिवस मनाएको छ ।

सिन्धुलीको लोकतान्त्रिक चोकमा २०८२ चैत १६ गते साँझ दीप प्रज्वलन गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटा ले स्थापना दिवसको अवसरमा सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लाग्न आह्वान गर्नु भयो ।

उहाँले नेपालको संविधानले प्रत्याभूत गरेका प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भयो ।

अध्यक्ष देवकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पत्रकारहरूले निष्पक्ष रूपमा सूचना प्रवाह गर्दै नागरिकका साझा समस्याहरू उजागर गर्दै आएको उल्लेख गर्नु भयो ।

लोकतान्त्रिक समाज निर्माण तथा विकासमा महासङ्घले जिम्मेवार भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले चुनौतीपूर्ण परिस्थितिमा पनि नेपाली पत्रकारहरूले ज्यान जोखिममा राखेर सूचना सम्प्रेषण गरिरहेको धारणा व्यक्त गर्नु भयो ।

साथै, उहाँले पत्रकारहरूको बीमा तथा रोजगारी सुरक्षाको व्यवस्था राज्यले सुनिश्चित गर्नुपर्ने माग समेत राख्नु भयो ।

स्थापना दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रमले पत्रकारिता क्षेत्रको एकता, जिम्मेवारी र पेशागत मर्यादालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Author

Related News