रुद्रबहादुर खड्का, सिन्धुली ।
कमलामाई नगरपालिकाको २९औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ । कार्यक्रम नगर प्रमुख उपेन्द्रकुमार पोखरेलको अध्यक्षतामा आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले स्थापना दिवस नगरको इतिहास, पहिचान र संस्कृतिलाई स्मरण गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नु भयो ।
उहाँले नगरलाई समृद्ध र विकसित बनाउने दिशामा आफू प्रतिबद्ध रहेको बताउँदै भ्रष्टाचारमुक्त पालिका निर्माणमा जोड दिनु भयो ।
साथै, वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै केही सरकारी गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो र यस्ता गतिविधिले लोकतान्त्रिक गणतन्त्रमा असर पार्न सक्ने धारणा राख्नु भयो ।
नगर प्रमुख पोखरेलले आफ्नो कार्यकालमा नगरको समग्र विकासका लागि योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी दिँदै शिक्षा, स्वास्थ्य, कृषि, यातायात, विद्युत्, खानेपानी लगायतका क्षेत्रमा प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।
विपन्न वर्गका युवाहरूलाई लक्षित गरी स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने योजनासमेत अघि सारेको उहाँले जानकारी दिनु भयो ।
साथै, सिन्धुलीगढीको विकास तथा पर्यटन प्रवर्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा बजेट व्यवस्थापन गर्ने योजना रहेको पनि उहाँले उल्लेख गर्नु भयो ।
त्यसैगरी, नगर उपप्रमुख मञ्जु देवकोटाले नागरिकको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै नगरलाई सुन्दर र व्यवस्थित बनाउन सबै नगरवासीको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
उहाँले विकास योजनाहरू समयमै सम्पन्न गर्ने र नागरिकलाई सहज तथा प्रभावकारी सेवा उपलब्ध गराउनेतर्फ विशेष ध्यान दिइने धारणा राख्नु भयो ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सङ्घसंस्थाका प्रतिनिधि, शिक्षकशिक्षिका, नागरिक समाज तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।