मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

तटबन्ध निर्माणमा लापरवाही: काम रोकियो, पुनर्निर्माणको निर्देशन

रुद्रबहादुर खड्का, सिन्धुली ।

सुनकोशी गाउँपालिका-१ स्थित रोशी खोलामा निर्माणाधीन तटबन्धमा उपभोक्ता समितिको चरम लापरवाही देखिएको भन्दै काम रोकिएको छ ।

रोशी खोला कटानबाट देवीस्थान फाँट जोगाउने उद्देश्यले बागमती प्रदेश सरकारको २७ लाख रुपियाँ बजेटको लागतमा तटबन्ध निर्माण सुरु गरिएको थियो ।

सम्झौताअनुसार रड र सिमेन्ट प्रयोग गरी आरसिसि वाल निर्माण गर्नुपर्ने भए पनि उपभोक्ता समितिले ढुङ्गा प्रयोग गरेर ढलान गरेको पाइएको छ ।

गुणस्तरहीन निर्माणको विरोधमा स्थानीयले आवाज उठाएपछि काम तत्काल रोकिएको हो । तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा पूर्व वडाअध्यक्ष बिमलमान मोक्तानले पनि निर्माणमा कमजोरी भएको स्वीकार गर्नु भएको छ ।

आफूले प्रत्यक्ष अनुगमन नगरेको समयमा कामदारले ढुङ्गा प्रयोग गरेर वाल बनाएको उहाँको भनाइ छ ।

जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय सिन्धुलीका प्रमुख निर्मल दाहालका अनुसार स्थलगत अनुगमनका क्रममा मापदण्ड विपरीत ढुङ्गा प्रयोग गरी वाल निर्माण गरिएको भेटिएको हो । त्यसपछि तत्काल निर्माण कार्य रोक्न निर्देशन दिइएको उहाँले बताउनु भयो ।

स्थानीय उपभोक्ता र सरोकारवालासँगको छलफलपछि हाल निर्माण गरिएको संरचना भत्काएर मापदण्डअनुसार नयाँ आरसिसि वाल निर्माण गर्न सुझाव दिइएको छ ।

नयाँ संरचना नबनाएसम्म भुक्तानी नदिने स्पष्ट गरिएको प्रमुख दाहालले जानकारी दिनु भयो । साथै, आगामी निर्माण कार्यमा प्राविधिक इन्जिनियरलाई अनिवार्य रूपमा साइटमै खटाइने जनाइएको छ ।

गत वर्ष देवीस्थान फाँट क्षेत्रमा आएको बाढीले खेतीयोग्य जमीनमा ठूलो क्षति पुर्‍याएको थियो । वर्षेनी दोहोरिने कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको भए पनि गुणस्तरमा लापरवाही देखिँदा काम प्रभावित भएको हो ।

फोटोः बाढीपछिको रोशी ।

Author

Related News