मानव आवाज

२०८२ चैत्र ५ गते
00: 00: 00
२०८२ चैत्र ५ गते

सिन्धुली-१ का सांसद धनेन्द्रबहादुर कार्कीविरुद्ध सर्वोच्चमा रिट

रुद्रबहादुर खड्का, सिन्धुली ।

सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित धनेन्द्रबहादुर कार्की को पद कानुनी विवादमा परेको छ ।

प्रदिप कटुवालले कार्की उम्मेदवार बन्न अयोग्य रहेको दाबी गर्दै २०८२ चैत ३ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

रिटमा कार्की उम्मेदवारी दर्ताकै समयमा कर्जा सूचना केन्द्रको ‘कालोसूची’मा रहेको दाबी गरिएको छ ।

बिजु सहकारीसँगको कारोबारका कारण कार्कीको नाम गत माघ र फागुन महिनामा चार पटकसम्म कालोसूचीमा परेको विवरण उल्लेख गरिएको छ ।

निर्वाचन कानुनअनुसार कालोसूचीमा रहेका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने प्रावधान भए पनि कार्कीले निर्वाचन आयोगलाई ‘छलछाम’ गरी अवैध रूपमा उम्मेदवारी दिएको निवेदक कटुवालको जिकिर छ ।

रिटमार्फत कटुवालले कार्कीलाई निर्वाचित घोषणा गर्ने निर्णय बदर गर्न, आफूलाई दोस्रो बढी मत प्राप्त उम्मेदवारको आधारमा विजयी घोषणा गर्न र मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कार्कीको शपथ ग्रहण रोक्न अन्तरिम आदेश जारी गर्न माग गर्नुभएको छ ।

कटुवालले वारेस युवराज पौडेल ‘सफल’ मार्फत रिट दर्ता गराउनुभएको हो । सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइका लागि चैत २५ गते पेसी तोकेको छ ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कार्की १६ हजार ६ सय ५९ मतसहित विजयी भएका थिए भने कटुवाल १५ हजार ८ सय ७५ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । दुवैबिचको मतान्तर ७ सय ८४ रहेको थियो ।

अब सर्वोच्च अदालतको निर्णयले सिन्धुली-१ को राजनीतिक भविष्यसँगै सांसद कार्कीको पद कायम रहने वा नहरने भन्ने विषय टुङ्गो लगाउनेछ ।

Author

Related News