जनकपुरधाम । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा करिब ५ सय जना नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
क्षेत्र नम्बर १ अन्तर्गत झुन्खुन्वामा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५ सय जना नेकपामा प्रवेश गरेका सो पार्टीले जनाएको छ ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा रौतहट क्षेत्र नं १ का उम्मेदवार माधवकुमार नेपालको उपस्थितिमा नवप्रवेशीलाई तारा अङ्कित टोपी र माला लगाएर स्वागत गरिएको छ ।
पूर्व प्रधानमन्त्री नेपालले युवाशक्तिको उत्साहजनक सहभागिताले परिवर्तन र समृद्धिको अभियानलाई थप बल पुगेको बताउनु भयो ।
उहाँले रौतहटको विकास, रोजगारी सिर्जना र जनताको अधिकार सुनिश्चित गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नु भयो ।
माधवकुमार नेपाल: शान्ति, संविधान र समन्वयको सतत यात्रा
रौतहट क्षेत्र नं. १ आज केवल प्रतिनिधि छान्ने मोडमा छैन, यो इतिहास र भविष्यबिचको छनोटको क्षणमा उभिएको छ । यस्तो घडीमा अनुभव, संयमता र समन्वयको राजनीतिलाई प्राथमिकता दिनु जरुरी हुन्छ । यही सन्दर्भमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालको उम्मेदवारी केवल एक दलको निर्णय होइन, राष्ट्रिय राजनीतिक यात्राको निरन्तरताको प्रस्ताव हो ।
माधवकुमार नेपाल त्यस्ता नेता हुनुहुन्छ, जसले उथलपुथलको समयलाई नजिकबाट भोग्नु भएको छ र समाधानको बाटो संवादबाट खोज्नु भएको छ । जब देश सशस्त्र द्वन्द्वको अँध्यारोमा थियो, उहाँले वार्ता नै समाधान हो भन्ने अडान लिनु भयो । हिंसा र प्रतिहिंसाको चक्र तोड्न सात दलबिच विश्वास निर्माण गर्ने, साझा एजेन्डा तय गर्ने र माओवादीलाई राजनीतिक मूलधारमा ल्याउने प्रयासमा अग्रपङ्क्तिमा उभिनु भयो । १२ बुँदे सहमति निर्माणको प्रक्रियामा कुटनीतिक समन्वय, राजनीतिक भाषा परिमार्जन र साझा धारणा निर्माणमा उहाँको भूमिका निर्णायक रह्यो ।
उहाँको दृष्टि स्पष्ट थियो-माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनु भनेको केवल बन्दुक थामेको शक्ति शान्त पार्नु होइन, लोकतान्त्रिक मूल्य-मान्यता स्वीकार गराएर स्थायी राजनीतिक मार्ग खोल्नु हो । बहुदलीय व्यवस्था, मानवअधिकार र नागरिक स्वतन्त्रता बिना शान्ति सम्भव छैन भन्ने अडान उहाँले निरन्तर दोहोर्याउनु भयो । यही विचारले द्वन्द्वलाई राजनीतिक संवादमा रूपान्तरण गर्ने वातावरण बनायो । नेपालमा कम्युनिष्ट एकाताका लागि निरन्तर लाग्नु भएका नेपाल अहिले तत्कालीन माओवादीसँगै हुनुहुन्छ ।
२०५० साल जेठ ३ गते मदन भण्डारीको हत्या भएपछि उहाँ नेकपा एमालेको महासचिव बन्नु भयो । उहाँकै नेतृत्वमा २०५१ सालको मध्यावधि निर्वाचनमा एमाले पहिलो पार्टी बन्यो । अल्पमतको सरकार बनायो । सम्मानका खातिर अध्यक्ष बनाइनु भएका मनमोहन अधिकारीलाई प्रधानमन्त्री बनाउँदै माधव नेपाल उपप्रधानमन्त्री बन्नु भयो । त्यतिबेलाको सरकारले गरेका काम अहिले पनि जनजनमा स्मरण छ ।
जनआन्दोलन २०६२/६३ को समय पनि उहाँको राजनीतिक जीवनको महत्त्वपूर्ण अध्याय हो । आन्दोलनलाई शान्तिपूर्ण, समावेशी र लोकतान्त्रिक दिशामा अघि बढाउने रणनीति निर्माणमा उहाँ सक्रिय रहनु भयो । राजतन्त्रको अन्त्य र संविधानसभा निर्वाचनको मार्ग प्रशस्त गर्ने राजनीतिक रेखा तय गर्न उहाँले भूमिका खेल्नु भयो । संविधानसभामार्फत दीर्घकालीन समाधान खोज्ने धारणा स्थापित गर्न सात दलभित्रका शङ्कालु मनस्थितिलाई सहमतिमा ल्याउन उहाँले अथक प्रयास गर्नु भयो ।
अन्तर्राष्ट्रिय समुदायसँगको कूटनीतिक सम्वादमा पनि उहाँले विश्वास निर्माण गर्नु भयो । भारत, युरोपियन युनियन, संयुक्त राष्ट्रसङ्घजस्ता पक्षसँग शान्ति प्रक्रियाको पक्षमा समर्थन जुटाउनु सजिलो काम थिएन, तर नेपालको परिपक्व कूटनीतिक शैलीले त्यो सम्भव भयो । उहाँको राजनीतिक चरित्रको अर्को विशेषता हो-समन्वय । असहमतिलाई शत्रुता होइन, सम्वादको आधार बनाउने प्रवृत्ति । पार्टीभित्र होस् वा बाहिर, उहाँले पुलको काम गर्नु भएको छ । यही कारणले उहाँलाई शान्ति, संविधान र इमानका पर्यायका रूपमा हेर्नेहरू धेरै छन् ।
रौतहट-१ का मतदाताका लागि प्रश्न सरल छ-के हामी अनुभव र परिपक्वतालाई रोज्छौं, कि अनिश्चित प्रयोगलाई ? राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने, सङ्क्रमणकालीन चुनौतीहरू बुझेका र सहमतिमूलक नेतृत्व दिन सक्ने प्रतिनिधि संसदमा पुग्दा त्यसको प्रत्यक्ष लाभ क्षेत्रले पनि पाउँछ । माधवकुमार नेपालको जित केवल एक व्यक्तिको विजय होइन, यो शान्ति प्रक्रियाको सम्मान, संविधानको संरक्षण र समन्वयकारी राजनीतिप्रतिको प्रतिबद्धता हो । द्वन्द्वबाट शान्तितर्फ, अस्थिरताबाट संस्थागत लोकतन्त्रतर्फ देशलाई डोर्याउने यात्रामा उनले खेलेको भूमिका इतिहासले दर्ज गरिसकेको छ । अब त्यो यात्रालाई निरन्तरता दिने जिम्मा रौतहट-१ का मतदाताको हातमा छ ।