रुद्रबहादुर खड्का, सिन्धुली ।
सिन्धुलीमाढीमा २०८२ फागुन ८ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरूका लागि परालको चप्पल बनाउने तालिम सुरु भएको छ । निर्वाचन पछिसम्म सञ्चालन हुने उक्त तालिममा २० जनाको सहभागिता रहेको छ ।
सिन्धुली अपाङ्ग महिला सङ्घको आयोजना तथा सामाजिक विकास कार्यालय, हेटौंडा को सहयोगमा सञ्चालन भएको तालिममा बौद्धिक, शारीरिक तथा बहिरा अपाङ्गता भएका व्यक्तिहरू सहभागी छन् ।
१५ दिनसम्म सञ्चालन हुने तालिममा विराटनगर महिला उद्यमी महासङ्घकी सदस्य अञ्जु थापाले प्रशिक्षण प्रदान गरिरहनुभएको छ ।
कार्यक्रमका अध्यक्ष तथा सङ्घकी अध्यक्ष दिलकुमारी देवकोटा (दीपा) ले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनु भयो ।
बजारमा परालको चप्पलको माग बढ्दो रहेकाले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले सहजै सिक्न सक्ने र फुर्सदको समयमा घरमै बसेर उत्पादन गरी आयआर्जन गर्न सकून् भन्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।
देवकोटाका अनुसार पराल गाउँघरमै उपलब्ध हुने कच्चा पदार्थ भएकाले अन्य व्यवसायभन्दा झन्झट कम हुने र अपाङ्गता भएका व्यक्तिहरूका लागि उपयुक्त रहनेछ ।
परालको चप्पललाई शुद्ध मानिने भएकाले मन्दिर, घरभित्रका कोठा तथा मृत्यु संस्कारका काजक्रियामा प्रयोग गरिने तथा बजारमा समेत यसको उच्च माग रहेको उहाँले जानकारी दिनु भयो ।
यस्ता प्रकारका तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सङ्घकी अध्यक्ष देवकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सिन्धुली अपाङ्ग सङ्घकी अध्यक्ष बबिता थापा, सौगात लघु उद्यम सहकारी संस्थाकी अध्यक्ष बिमला थापा, अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।